यस्ता छन् नेपालगन्जका मेयरका आकांक्षी



वीरेन्द्र जैसी । नेपालगन्ज ।

स्थानीय तहको निर्वाचन २०७४ मा नेपालगन्ज उपमहानगरपालिकाको मेयरका लागि चारजना स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको थियो । तर, तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवलशमशेर राणा सर्वाधिक मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुरेशकुमार कनोडिया धवलभन्दा तीन हजार सात सय ८५ मतले पछि परे ।

अब कुन पार्टीको पल्ला भारी हुन्छ ? यसको उत्तरका तीन पहेलु राजनीति सम्बद्धहरु औँल्याउँछन् । एक, सत्ता गठबन्धन कायम रहन्छ वा रहन्न ? दुई, गत निर्वाचनमा धवलशमशेरलाई प्राप्त मतको अस्थिर मतदाताको हिस्सा कसको पक्षमा जान्छ ? तीन, कुन पार्टी वा पक्षले लोकप्रिय नेतालाई उम्मेदवार बनाउँछ ? गठबन्धन नभएमा नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी हुने देखिन्छ ।

कांग्रेससँग कुन दल प्रतिस्पर्धामा आउँछ त्यसको आधारमा नतिजा भर पर्ने टिकाटिप्पणी भइरहेका छन् । गठबन्धन भएमा सत्ता गठबन्धन स्वतः बलियो हुनेछ । जिल्लामा सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसभित्र एक्लै चुनाव लड्नुपर्ने मत बलियो छ । जिल्ला सभापति नारायणप्रसाद गौडेलले सभापति निर्वाचित भएपछि आयोजित पत्रकार सम्मेलनमा जिल्लामा कांग्रेस एक्लै चुनाव जित्न सक्षम रहेको बताएका थिए ।

आइतबार मिसन टुडेसँग कुरा गर्दै गौडेलले अहिले आफूहरुको ध्यान गठबन्धनतिर नगएको बताए । कांग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाशसरण महतले शनिबार बढी सिट कांग्रेसले पाउने अवस्थामा मात्रै गठबन्धन हुने र उक्त निर्णय जुन तहको हो त्यही तहका नेताको रायका आधारमा तय हुने बताएका थिए । यता गठबन्धनको साझेदार माओवादी केन्द्रका जिल्ला इन्चार्ज आइपी खरेलले उपमहानगरपालिकाको उम्मेदवारीको निर्णय केन्द्रले गर्ने भएकोले त्यसलाई पर्खिनुपर्ने बताए ।

कांग्रेसभित्र गठबन्धन नगर्ने मत बलियो भएर त्यसैलाई केन्द्रले पनि सदर गरेमा अघिल्लो निर्वाचनको उपविजेता कांग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धी हुने एक पक्षको आँकलन छ भने कांग्रेससँग मुख्य प्रतिस्पर्धीमा जसपा पनि आउनसक्ने अर्काे पक्षको आँकलन छ । नेपालगन्ज उपमहानगरपालिका समेटिएको क्षेत्र नम्बर २ बाट गत संघीय संसद्को निर्वाचनमा हाल जसपामा रहेका नेता इश्तियाक राई विजयी भएर सांसद छन् । त्यस आधारमा नेपालगन्जमा जसपाको पकड बलियो रहेको मानिन्छ । विशेषगरि मधेसी र मुस्लिम मतदातामा जसपाको पकड बलियो रहेको नेताहरु बताउँछन् ।

नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. राणाले गत निर्वाचनमा पाएको मतको ठूलो हिस्सा मधेसी तथा मुस्लिम मतदाताको पनि थियो । अब उक्त मत तान्नसक्ने नेता राप्रपामा नदेखिएका अरु पार्टीका नेताहरु बताउँछन् । डा. राणाले उपमहानगरपालिकामा फेरि उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । यस अवस्थामा राप्रपालाई डा. धवलशमशेरको विकल्प छान्न सकस हुने देखिएको छ ।

आफूलाई धवलशमशेरको विकल्पको रुपमा गौरव शाह, तेजविक्रम शाहलगायतका व्यक्तिहरुले दाबेदारी प्रस्तुत गरेका छन् । तर, राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋिषिराज देवकोटा भन्छन्, ‘दाबेदारी आआफ्नै तरिकाले प्रस्तुत गर्नुभएको होला । तर पार्टीले योग्य व्यक्तिलाई छान्छ । पार्टीको निर्णय कुर्नुपर्छ ।’

राप्रपाले बलियो उम्मेदवार छान्न नसकेमा वा कुनै दलसँग गठबन्धन गरेमा अघिल्लो निर्वाचनमा धवलको पक्षमा गएका मतदाता जसपाको पक्षमा जानसक्ने प्रवल सम्भावना रहेको छ । जसपाबाट मेयरका लागि एकमात्र दाबेदार मानिएका कमरुद्धिन राई भन्छन्, ‘हामीले विगत पाँच वर्ष संगठन निर्माणमै बिताएका छौँ ।

यसका साथै हाम्रो पार्टीका माननीयज्यूको पहलमा नेपालगन्जमा भएको विकासले पनि जनताले हामीलाई पत्याउँछन् भन्ने विश्वास छ ।’ तर राईको विकल्पमा एमालेका तर्फबाट दाबेदार मानिएका पशुपतिदयाल मिश्रलाई बलियो मान्नेहरु पनि धेरै छन् । केही समय अघि एमालेमा ठूलो कार्यकर्ता पंक्तिसहित स्वतन्त्र राजनीतिक विचार समूहबाट भिœयाइएका मिश्रले मधेसी र मुस्लिम समुदायलाई तान्न सक्ने क्षमता रहेको बताइन्छ । मिश्रले मिसन टुडेसँग कुरा गर्दै आफू एमालेका तर्फबाट निर्विकल्प उम्मेदवार हुँ भनेर भन्न नसक्ने बताए ।

यद्धपि पार्टी प्रवेश गर्दा नै आफूले मनसाय नेताहरुसमक्ष राखिसकेको उनको भनाइ छ । एमालेमा मिश्रलाई नै मेयरको उम्मेदवार बनाउने बलियो विकल्प रहेको बताइन्छ । मिश्रले पनि भने, ‘पहिले एमालेको पकड नेपालगन्जको उत्तर क्षेत्रमा मात्रै थियो । अब दक्षिणमा पनि बलियो भएको छ । यस कारण एमाले बलियो छ ।’ मिश्रले दक्षिण क्षेत्र भन्नुको तात्पर्य मधेसी र मुस्लिम समुदायको बढी बसोबास भएको क्षेत्र नै हो ।
यस्तै दाबी माओवादी केन्द्रका तर्फबाट दाबेदार मानिएका नन्दलाल वैश्यको पनि छ ।

उनी व्यावसायिक अगुवाको पृष्ठभूमि हुँदै राजनीतिमा आएका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष रहेका वैश्य आफूले मधेसी र पहाडी मूलका समुदायमा लोकप्रिय छबी बनाएको दाबी गर्छन् । यस्तै दाबी माओवादीकै तर्फबाट बलिया दाबेदार मानिएका आदेश अग्रवालको पनि छ । यसैगरि एर्कीकृत समाजवादीबाट एकमात्र मेयरका दाबेदार मानिएका समसुद्धिन सिद्धिकीको पनि मधेसी बाहुल्य क्षेत्रमा पकड राम्रो भएको बताइन्छ ।

नेकपा एमाले

एमालेबाट अहिलेसम्म पशुपतिदयाल मिश्र एकमात्र मेयरका दाबेदारका रुपमा देखिएका छन् । तर मिश्र पार्टीभित्र अरु पनि दाबेदार भएको नकार्न नसकिने बताउँछन् । कांग्रेस, तमलोपा हुँदै हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक विचार समूहमा पुगेका मिश्रलाई एमालेका अध्यक्ष केपी वलीले गत १ मंसिरमा पार्टीमा भिœयाएका थिए । मिश्र पनि आफूले एमालेका मतदातालाई जोड्ने काम गरेको र आफूसँग नेपालगन्जका लागि भएको स्पष्ट योजनाका लागि आफू बलियो दाबेदार भएको बताउँछन् ।

कस्ता छन् मुख्य दाबेदार ?

नेपाली कांग्रेस

कांग्रेसबाट वर्तमान उपमेयर उमा थापामगर, डा. सुरेशकुमार कनोडिया र प्रशान्त विष्टलाई मेयरका मुख्य दाबेदार मानिएको छ । थापामगर आफूले उपमेयर भएर पाँच वर्षमा गरेको काम, संगालेको अनुभव र महिला प्रतिनिधित्वका हिसाबले आफ्नो दाबेदारी बलियो रहेको बताउँछिन् ।

डा. कनोडिया पार्टीले काम गर्न सक्ने र उपमहानगरपालिकाको नेतृत्व हाँक्न सक्ने नेता चुन्ने भएकोले आफ्नो दाबी बलियो रहेको बताउँछन् । आफूसँग मेयरको जिम्मेवारी पाए नेपालगन्जको सर्वांगिण विकासका लागि स्पष्ट खाका रहेको उनको दाबी छ ।

कांग्रेसका तर्फबाट मेयरका अर्का आकांक्षी विष्ट कांग्रसको नेपालगन्ज नगर सभापति हुन् । उनी तेस्रोपटक पार्टीको नगर सभापतिमा निर्वाचित भएको, युवा पुस्तालाई अवसर दिने र सबै पार्टीसँग सिभजनेको आधारमा आफ्नो दाबेदारी बलियो रहेको बताउँछन् । यसबाहेक कांग्रसबाटै सुरेन्द्र हमाल, अच्युत प्रसाईलगायतहरु पनि मेयरका दाबेदार रहेका बताइएको छ ।

नेकपा (माओवादी केन्द्र)

माओवादी केन्द्रबाट व्यावसायिक पृष्ठभूमिका नन्दलाल वैश्य र आदेश अग्रवाल बलिया दाबेदार मानिएका छन् । वैश्य व्यावसायिकदेखि सामाजिक र धार्मिक संघसंस्थाको नेतृत्व गरेको, नेपालगन्जको पीडा र समस्या बुझेको, नगरवासीहरुले पत्याएको र नेताहरुले विश्वास गरेकोले आफ्नो दाबेदारी बलियो रहेको बताउँछन् ।

अग्रवाल पार्टीका लागि गत निर्वाचनदेखि नै खटिएको, संगठन निर्माण र व्यावसायिक नेतृत्वमा अब्बल काम गरेका कारण आफू बलियो दाबेदार रहेको बताउँछन् ।

जनता समाजवादी पार्टी

कमरुद्धिन राई जसपा बाँकेका अध्यक्ष हुन् । मधेसवादी राजनीतिबाट परिचित भएका उनी गएको निर्वाचनमा पनि उम्मेदवार थिए । त्यतिबेला आफूले सन्तोषजनक मत पाएको राई बताउँछन् ।

उनी अहिले पार्टीमा आफू एकमात्र दाबेदार भएको बताउँछन् । पार्टीको संगठन विस्तारमाविगत पाँच वर्षमा आफूले उल्लेख्य काम गरेकोले मेयरको टिकट पाउने सम्भावना बलियो रहेको उनी बताउँछन् ।

नेकपा (एकीकृत समाजवादी)

२०५४ मा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाको उपमेयर रहेका समसुद्धिन सिद्धिकीलाई अहिले नेकपा (एकीकृत समाजवादी) का तर्फबाट बलिया दाबेदार मानिन्छ । एमाले विभाजनपछि सिद्धिकी नेकपा एकीकृत समाजवादीतर्फ लागेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ७ गते सोमबार