कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रहरीको कुटाइबाट एक युवकको मृत्यु भएको छ ।
नेपालगन्जबाट कालीकोट जाँदै गरेका युवाको सुर्खेतमा प्रहरीको कुटाइबाट मृत्यु भएको हो । प्रहरीको कुटाइबाट कालीकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीय मिनि भनिने कृष्ण हमालको मृत्यु भएको उनका आफन्तहरुले बताएका छन् ।
आफन्तका अनुसार शुक्रबार राति नेपालगन्ज भे१क ९२२ नम्बरको ट्रकमा आउँदै गरेका हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको थियो । ‘प्रहरीको कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो ।’
मृत्तकका अंकल कलमबहादुर हमालले भने, ‘गाडीको स्टाफलाई पनि दुईजना प्रहरीले कुटपिट गरेका थिए । उनीहरुलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।’ सुर्खेत अस्पतालले शनिबार बिहान सवा १० बजेतिर उपचारका लागि हमाललाई ल्याउँदा नै मृत्यु भइसकेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘कुटपिटपछि मृत्यु भन्ने खबर आयो,’ उनले भने, ‘विस्तृत विवरण बुझ्दै छौं ।
अनुसन्धानपछि सबै खुल्नेछ ।’ शनिबार मृतकका आफन्तहरुले दोषी प्रहरीलाई कारबाहीको माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शनसमेत गरेका थिए । स्थानीय यरी चोकमा जम्मा भएका मृतकका आफन्तहरुले टायर बालेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सत्यतथ्य छानबिन गरेर दोषी प्रहरीमाथि कारबाही गर्नसमेत माग गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्