भेरी अस्पतालको इमरजेन्सी कक्ष भएको भवनको ठीक पछाडि छ, कर्णाली प्रदेश खरिद शाखा तथा आपूर्ति शाखाको क्वाटर । उक्त क्वाटरको बीचको कोठामा बसिरहेको थियो, भट्टराई परिवार । उक्त कोठामा ढोका र झ्याल मात्रै छन् । त्यहाँ सातजना बस्थे ।
सिमेन्ट प्लास्टर गरिएको उक्त कोठा साँघुरो र चिसो छ । ढोका नजिकै थियो, आगो ताप्न प्रयोग गरिएको स्टीलको भाँडो । त्यसमा खरानी छ । उक्त कोठामा सँगै जोडिएका दुईवटा खाट छन् । दुवै खाटमा ओछ्याउन र ओढ्न प्रयोग गरिएका लत्ताकपडा अस्तव्यस्त अवस्थामा छन् । ओछ्यानको भित्तामा दुईवटा कालो रङका झोला र झुल झुण्ड्याइएका छन् ।
कोठाको भुईँमा भने आगोको धुलो देखिन्छ । दोस्रो खाट नजिकै झ्याल छ । झ्यालमा दुई पर्दा छन् । झ्यालमा चुक्कुल लगाइएको छ । कुनामा सिलाइकटाई मेसिन राखिएको छ । उनीहरुले लगाउने कपडा यत्रतत्र छरिएका छन् । एक छेउमा साना बच्चाका लुगा राखिएको छ । अर्कोपट्टि भित्ता भने रंगीन छ । माथि धनप्रसाद र शुसिलको विवाहको फोटो टाँसिएको छ ।
अब उनीहरु फोटोमा मात्रै सँगै रहे । अब भौतिकरुपमा उनीहरु कहिल्यै सँगै हुने छैनन् । उनीहको दाम्पत्य जीवन सदाका लागि टुंगिएको छ । उनीहरुको फोटोभन्दा तल बच्चाहरुको दुईटा फोटा छन् । कोठाको भित्तो रंगीन भए पनि त्यहाँ भएका मानिसको जीवन अब कहिल्यै रंगीन बन्ने छैन । अर्को कुनामा दराज छ ।
दराजमाथि किताब राखिएका छन् । अर्को भित्तामा भने देवताको फोटो टाँसिएको छ । विभिन्न भगवान्का चारवटा फोटा टाँसिएको छ । टेबलमाथि लत्ताकपडा, लीड, पानी खाने पोतल र उल्टो अवस्थामा पल्टिएको भाँडो छ ।










प्रतिक्रिया दिनुहोस्