आज कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै



सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । मंगलबार प्रदेशसभा बैठकमा उनले उक्त प्रस्ताव पेस गरेका हुन् ।

सो प्रस्तावको सम्बन्धमा मत विभाजन भने आज बस्ने बैठकमा गराइने भएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि नबढाइ बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

एमालेको १०औँ महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण पनि मंगलबारको बैठक औपचारिकतामा सीमित भएको थियो ।

बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरे पनि प्रमुख प्रतिपक्ष अनुपस्थित भएका कारण भोलिसम्मका लागि स्थगित गरिएको जनाइएको छ । नेकपा एमालेले भोलिको बैठकमा सहभागी हुने जनाएको सत्तारुढ गठबन्धनका नेताहरूको भनाइ छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १५ गते बुधबार