नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । गत आर्थिक वर्ष २०७७÷७८ को जनस्वास्थ्य क्रियाकलापहरुको पालिकास्तरीय वार्षिक समीक्षापछि प्राप्त सुझावहरुका आधारमा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधा थप प्रभावकारी बनाइने भएको हो ।
‘दिगो विकासको लक्ष्य पूरा गर्नका लागि सबैभन्दा पछाडि परेका क्षेत्र प्राथमिकतामा दिइनेछ’ नगर उप–प्रमुख उमा थापा मगरले भनिन्, ‘स्वास्थ्य सेवा चुस्त, दुरुस्तसँगै तत्काल उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्नेछ ।’ उप–महानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुको गत आर्थिक वर्षमा भए गरेका कामको समीक्षाका आधारमा चालू आर्थिक वर्षमा प्रभावकारी काम गरिने भन्दै राम्रो काम गर्ने स्वास्थ्य संस्थालाई पुरस्कृत गरिने नीति लिन लागिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले नेपालगञ्जले प्राप्त गर्ने सफलता र असफलतामा सिंगो जिल्ला जोडिने भन्दै सबै अभियान र कार्यक्रम प्रभावकारी बनाउन सुझाव दिए । भोली मंगलवारसम्म चल्ने तालिममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरका स्वास्थ्य संस्थाका इन्चार्ज लगायतको सहभागिता रहेको छ ।









प्रतिक्रिया दिनुहोस्