30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

शिलन्यास भएको महिना दिन सम्म पनि काम शुरु भएन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ९, २०७३  

बर्दिया, ९ फागुन  / लामो समयदेखि अलपत्र अवस्थामा रहेको बर्दियाको भुरिगाउँ गुलरिया हुलाकी सडक शिलन्यास हुँदा यहाँका स्थानियबासी निकै खुशी भएका थिए । तर, शिलन्यास भएको महिना दिन बित्दा पनि निर्माण कार्य सुरु नहुँदा स्थानियबासी सडक नबन्ने हो की भन्ने आशंका गर्न थालेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले एक महिना अघि माघ ८ गते यो सडकको शिलन्यास गरेका थिए । शिलन्यास भएको एक साता भित्रै निर्माण कार्य सुरु हुने मन्त्री लेखकले आश्वासन दिएका थिए । तर एक महिना बित्दा पनि मन्त्रीको आश्वासन पुरा हुन सकेको छैन । मन्त्री लेखकले भुरिगाउँ गुलरिया र बेलवा राजापुर सडकको एकै दिन शिलन्यास गरेका थिए ।
यी दुबै सडक २ वर्ष भित्र कालोपत्रे गरिसक्ने आयोजनाको लक्ष्य छ । तर, समयमै काम सुरु नहुँदा निर्धारित समयमा काम सम्पन्न नहुने लगभग निश्चित छ । पहिलो प्याकेजमा मूर्तिहा
(गुलरिया)देखि बेलवा चोक र दोस्रो प्याकेजमा बेलवादेखि भरिगाउँसम्मको सडक बनाउने योजना छ । शिलन्यास भएको महिना दिन बित्दा पनि निमार्णको कुनै सुरसार नै छैन ।
सडक निमार्णका लागि कात्तिक मसान्तमा आव्हान गरीएको टेण्डरमा भुरीगाउँ गुलरिया हुलाकी सडकका लागि दुबै तर्फबाट सडक निर्माण कार्य सुचारु गर्ने गरी शर्मा एण्ड जेभी र पप्पु कन्टूक्सनले ठेक्का पाएका छन् । तर यी दुबै कम्पनीले काम अघि बढाउन चासो देखाएका छैनन् । सडक निमार्णको ढिलाईका सम्बन्धमा हुलाकी सडक आयोजना प्रमुखसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
भुरिगाँउ गुलरिया हुलाकी सडकको शिलन्यास लगत्तै सडक निमार्णको काम सुरु हुने र निर्धारित समय भित्रै सडक निमार्ण हुन्छ भन्ने मन्त्री लेखकको आश्वासन अब हावाको कुरो झै लाग्न थालेको स्थानियबासीको भनाई छ । भुरीगाउँ(बेलुवा(गुलरिया हुँदै मुर्तिया र राजापुरदेखि बेलुवासम्मको हुलाकी सडकको टेन्डर प्रकृया करिव तीन महिना अघि नै सम्पन्न भएको थियो । टेण्डर भएको दुई महिना पछि मन्त्री लेखकले सडकको शिलन्यास गरेका थिए ।
यसअघि हुलाकी सडकको निमार्णका लागि भारत सरकारसँग सन् २०११ सेप्टेम्बर २० देखि काम सुरु गरी सन् २०१४ मार्चसम्ममा सक्नु पर्ने सम्झौता भएको थियो । तर भारतिय ठेकेदारको लापरवाहीले उक्त अवधीमा २५ प्रतिशत पनि काम भएन । त्यस यता हुलाकी सडक अलपत्र अवस्था रहेको थियो । केही महिना अघि नेपाल सरकार र भारतीय सरकारबीच नयाँ सम्झौताको प्रक्रिया अगाडी बढाएर नेपाल सरकारले सडक निमार्णका लागि आफै टेण्डर आव्हान गरेको थियो । सडक निमार्णको ठेक्का सडक आयोजनाले पप्पु कन्टूक्सनलाई दिएको थियो । तर, भारत सरकारले समयमै रकम रकम सम्झौता नर्गदा निमार्णको काम अघि बढ्न सकेन । समयमै रकम समझौता नभए पछि ठेकेदारले ठेक्का फिर्ता लिएको थियो । भारतले रकम नदीएका कारण ठेकेदारसंग सम्झौता तोडिएको र पुनः नेपाल सरकाकै लगानीमा हुलाकी सडक निमार्ण हुन लागेको हो । हुलाकी सडक नेपालको दक्षिणी तराई भेगको एक प्रमुख पूर्वाधार हो ।
भुरिगाउँ गुलरिया हुदै मुर्तिहा सम्मको साढे ३५ किलोमिटर सडकको लागत १ अरब १० करोड रहेको हुलाकी सडक आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यो सडक दुइ लेन र सात मिटर चौडा कालोपत्रे हुनेछ । समयमै सडक निमार्ण कार्य सुरु नहुँदा बबई नगरपालिका सहित शिवपुर, ठाकुरद्धारा, सुर्यपटुवा, ढोढरी गाविस सहित सानोश्रीताराताल र राजापुर क्षेत्रका स्थानियबासीहरु खाल्डाखुल्डी सडकमा जोखिम र झण्झटिलो यात्रा गर्न बाध्य छन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ९, २०७३     11:34:26 AM  |