नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा रहेको एक लागु औषध ब्राउन सुगरको डिलरमा लागु औषध नियन्त्रण ब्यूरो नेपालगञ्जको टोलीले छापा मारेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा ब्यूरोले छापा मारेर ठूलो परिमाणमा लागु औषध ब्राउन सुगर बरामद गरेको हो ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर, १२ कोरियनपुरमा कोठा भाडा लिएर बसेका दुई जना भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले साथबाट ४३ ग्राम लागु औषध ब्राउन सुगरसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपाने जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा भारत उत्तरप्रदेश जिल्ला बहराइच बस्ने २८ वर्षको मो. सलमान खान, भारत लखनउका २८ वर्षका मुस्तकिम सिद्धिकी र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ का २२ वर्षीय आजाद कवडिया रहेका छन् । तीनै जना कोठाबाटै ४३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । पक्राउ परेका मो. खानसँग दिल्ली क्राइम राष्ट्रिय पत्रिकाको परिचयपत्र रहेको प्रहरीले जनाएको छ । पत्रकारको भेषमा उनले नाकामा सहजै आवतजावत गरेको पाइएको डिएसपी न्यौपानेले जानकारी दिए । मुस्तकिम भने नेपालगञ्जको एक सुनपसलमा काम गर्छन् ।
उनीहरु नेपालगञ्जमा कोठा भाडामा लिएर बसेका थिए । बाहिरी आवरणमा पत्रकार र सुन पसलमा काम गर्ने देखिए पनि उनीहरुको असली धन्दा लागु औषधी ब्राउन सुगरको कारोबार गर्ने रहेको खुलेको पत्रकार सम्मेलनमा डिएसपी न्यौपानेले जानकारी दिए ।
‘उनीहरुको कोठाबाट ब्राउन सुगर तौलिने डिजिटल तराजुसमेत बरामद भएको छ’ उनले भने, ‘सलमान र मुस्तविमले भारतमा प्रतिग्राम एक हजार पाँच सयमा खरिद गरेर नेपालगञ्जमा तीन देखि चार हजारसम्ममा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’ तीनै जनालाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,










प्रतिक्रिया दिनुहोस्