बाँसगढीमा कोरोनाबाट एक हप्ताको फरकमा बाबु छोराको मृत्यु



बाँसगढी । 

बर्दियाको बाँसगढीमा हप्ता दिनको फरकमा बाबु र छोराको मृत्यु भएको छ । बाँसगढी नगरपालिका वडा नं. ६ का ८० वर्षीय गणेश थापा र ५५ वर्षीय बाबुराम थापाको कोरोनाबाट मृत्यु भएको हो ।

बुवा गणेशको जेठ ३ गते विहान ५ः३० बजे मृत्यु भएको थियो । छोरा बाबुरामको जेठ ९ गते राति एक बजे मृत्यु भएको छ । दुवै जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

आफन्तको विवाहमा कञ्चनपुर गएका छोरा बाबुराम उतै बिरामी भएका थिए । वैशाख ७ गते कञ्चनपुरमै उनको पीसीआर गरिएको थियो । घर बर्दिया आएकै दिन सास फेर्न गाह्रो भएपछि एम्बुलेन्समा राखेर भेरीमा ल्याइएको थियो ।

उनलाई वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा कम भएकाले उनलाई खतरा देखिएको थियो । यहीबेला बुवा गणेशलाई पनि सन्चो भएन । बुवालाई २७ गते भेरीमा ल्याइयो । २८ गतेदेखि भर्ना गरियो ।

बुवाको ३ गते मृत्यु भयो । गम्भीर अवस्थामा रहेका छोरालाई बुवा बितेको खबर गरिएको थिएन । कहिलेकाहीँ छोराले बुवा खोइ ? भनेर सोध्दा सन्चो भयो भनेर जवाफ दिने गरिएको थियो । बुवा बितेको भनिदिँदा अझ समस्या देखिन सक्ने भएकाले ढाँटिएको थियो ।

उनको अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गइरहेको थियो । बुवाको बितेको थाहा नपाएरै आइतबार राति छोरा बाबुरामको पनि मृत्यु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १६ गते आइतबार