सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता



काठमाडौं ।

नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार बसेको स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय लिएको हो।

सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) का तर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि अब भट्टले ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ।

प्रदेश सभामा एमालेका २५ सदस्य छन्। यस्तै, सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १४ सांसद छन्। कांग्रेसका १२ सांसदले प्रतिनिधित्व गर्दा जनता समाजवादी पार्टीका दुई सांसद छन्।

कूल ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्य आवश्यक पर्छन्। माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेका २८ सदस्य हुनेछ। आन्तरिक विवादका कारण जसपा पनि एक ढिक्का छैन।

एमाले एकै ठाउँमा उभिएको अवस्थामा मुख्यमन्त्रीले भट्टलाई विश्वासको मत लिन कठिन छ। तर, सुदूरपश्चिममा प्रधानमन्त्री केपी शर्मा ओली समूह कमजोर छ। ओली पक्षका ६ मात्र सदस्य छन्। नेपाल पक्षले साथ दिएमा भट्टलाई विश्वासको मत प्राप्त गर्न कुनै कठिनाइ छैन।

 

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १० गते सोमबार