कोहलपुर ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि जारी निषेधाज्ञा तोडेको भन्दै बर्दियामा ९ सवारी साधनहरु कारबाहीमा परेका छन् ।
निषेधाज्ञाको समयमा अनुमती नलिएर यात्रु ओसारपसार गरिरहेको अवस्थामा आइतबार ९ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।
केही दिनअघि मात्र जारी भएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार सवारी साधनलाई कारबाही गरिएको उनले बताए । बर्दिया प्रहरीले जारी निषेधाज्ञाको अटेर गर्दै सवारी चलाएर यात्रु ओसारपसार गरिरहेका ९ सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाको जिम्मा लगाएको थियो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले उक्त सवारी साधनहरुलाई प्रति सवारी ५ हजार रुपैयाँ जरिवाना गरेर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
बर्दिया प्रहरी मातहतका प्रहरी युनिटहरुले नियमित चेकजाँचका क्रममा निषेधाज्ञाको अटेर गर्दै यात्रु ओसारपसार गरिरहेका सवारी साधनहरुलाई नियन्त्रणमा लिएका थिए ।
बिना अनुमती सञ्चालन गरिराखेका बस, हाइस लगायतका यात्रु बहाक सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । नियन्त्रणमा लिइएकामध्ये ५ वटा बस र ४ वटा हाइसहरु रहेका थिए ।
नियन्त्रणमा लिइएका उक्त सवारी साधनहरुले अन्य जिल्लाबाट बिना अनुमती बर्दियामा जिल्लामा यात्रु ओसारपसार गरिरहेका थिए । जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामको लागि भन्दै चार सातादेखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाको अवज्ञा गर्दै सवारी साधन चलाउनेहरु बढेपछि कारबाहीलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्