भारतमा तीन नेपालीको मृत्यु



कोहलपुर, असार २९
बुटवलबाट नयाँ दिल्लीका लागि छुटेको बस भारत उत्तर प्रदेशको बहराइचमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज –रुपईडिहा सिमाबाट ३५ किलोमिटरको दुरीमा पर्ने रिसिया क्षेत्रको भोपतपुर भन्ने स्थानमा भएको दुर्घटनामा बसमा सवार ३५ जना यात्रु घाइते भएका छन् ।
मंगलबार राती २ बजेको समयमा बसलाई भारतीय नम्बरको मिनीट्रकले ठक्कर दिदा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ । नेपाली यात्रु बोकेको ना ४ ख. ७६८७ नम्बरको बसमा स्याउ बोकेर बहराईच तर्फ जाँदै गरेको यूके ३२–१२७२ नम्बरको मिनि ट्रकसँग ठक्कर खाँदा बसमा सवार ३ नेपाली सहित २ जना भारतिय नागरिकको मृत्यु भएको हो । दुर्घटना नेपाली २८ जना सामान्य र २ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुने नेपालीमा पश्चिम नेपाल बस व्यवसायी समितीको ना ४ ख ७६८७ नम्बर बसका चालक नवलपरासी देउरालीका खुमबहादुर सारुमगर, यात्रु पाल्पाका १२ बर्षिय तेजु अर्याल र स्याङ्जा रापाकोटका २६ बर्षिय धनप्रसाद लम्साल रहेका छन् ।
दुर्घटनामा मिनि ट्रकका चालक ३० बर्षिय नाजिर अहमद र खलासी २८ बर्षिय नफिस अहमदको मृत्यु भएको रुपईडिहा थाना अध्यक्ष छोटक यादबले जानकारी दिए ।  बस र मिनि ट्रक तिब्र गतिका कारण ठोकिएको हुन सक्ने भारतिय प्रहरीले जनाएको छ । घाईते मध्य ३३ जनाको जिल्ला अस्पताल बहराईचमा उपचार भईरहेको छ भने गम्भीर अवस्थाका २ जना घाईतेलाई थप उपचारकालागि ट्रमा अस्पताल लखनउ रिफर गरिएको भारतीय प्रहरीलाई उद्धृत गर्दे सहकर्मी सन्तोष शुक्लाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७३ असार २९ गते बुधबार