सुर्खेत
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ६ महिनामा डेढ अर्ब कारोबार भएको छ । सुर्खेतमा चालु आर्थिक वर्ष २०७७÷७८ को छ महिनामा एक अर्ब ३६ करोडको कारोवार भएको हो । कर्णाली प्रदेशको अर्थ बजार शीर्षकमा छ महिनामा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० कारोबार भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले तरकारी र फलफूलमा वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैँची, तरकारी बीउ, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला रहेको बताए । यस्तै वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुन समेत रहेको छ । उनका अनुसार यी सबै कारोबारलाई पहिलोपटक तथ्यांकमा निकालिएको हो ।
उनले सुर्खेत जिल्लाभित्र ५३ हजार ५५३ क्विन्टल तरकारी र फलफूलको कारोबार भएको बताए । त्यसबाट २३ करोड १४ लाख २३ हजार ४ सय रुपैयाँ कारोबार भएको हो । यस्तै सुर्खेतबाट बाहिर निर्यात दुई लाख २५ हजार ५८९ क्विन्टल रहेको उनको भनाइ थियो । निर्यात सरकारी तथा फलफूलबाट ८० करोड ५३ लाख ६९ हजार २ सय रुपैयाँ कारोबार भएको उनले जानकारी दिए ।
निर्देशनालयका अर्थविज्ञ प्रिया थापा उत्पादित कन्ये च्याउ दुई हजार ७२५ क्विन्टलबाट रु छ करोड २६ लाख ७५ हजार, हिउँदे तरकारी २० हजार ५६७ क्विन्टलबाट छ करोड १७ लाख एक हजार र वर्षे तरकारी १८ हजार ४८८ क्विन्टलबाट रु पाँच करोड ९१ लाख ६१ हजार ६ सय आन्तरिक कारोबार रहेको बताइन् ।
त्यसैगरी निर्यातित वर्षे तरकारी एक लाख ६६ हजार ४६१ क्विन्टलबाट ५३ करोड २६ लाख ७५ हजार २००, हिउँदे आलु २७ हजार ६७५ क्विन्टलबाट १२ करोड ७३ लाख पाँच हजार, हिउँदे तरकारी १७ हजार ५४८ क्विन्टलबाट रु पाँच करोड २६ लाख ४४ हजार र सुन्तला पाँच हजार ८५६ क्विन्टलबाट तीन करोड ८० लाख ६४ हजार बाह्य कारोवार भएको अर्थविज्ञ थापाले बताए। – रासस









प्रतिक्रिया दिनुहोस्