बर्दियामा कोरोनाका कारण वडाध्यक्षसहित २ जनाको मृत्यु



सुदीप अधिकारी, बर्दिया

कोरोना संक्रमणका कारण बर्दियामा पछिल्लो २ दिनमा २ जनाको ज्यान गएको छ । कोरोना संत्रमणका कारण बुधबार बारबर्दिया नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय सूर्यबहादुर थारुको मृत्यु भएको हो । भने मंगलबार ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय एक पुरुषको मृत्यु भएको हो । बारबर्दियाका सूर्यबहादुर थारु वडा नम्बर ३ का वडाध्यक्ष हुन् ।

उनी भदौ २९ गतेदेखि भेरी अस्पतालमा उपचारारत् थिए । उपचारकै क्रममा थारुको बुधबार विहान मृत्यु भएको भेरी अस्पतालले जनाएको
छ । ठाकुरबाबाका ६४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थिए । स्वास्थ्यमा जटिल समस्या आएपछि उनी असोज २ गते अस्पताल भर्ना भएका थिए । भर्ना पश्चात असोज ४ गते उनको पीसीआर विधिबाट स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । करिव एक महिना अघि मधुवन नगरपालिकाका एक जना पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । बर्दियामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यायका अनुसार बर्दियामा हालसम्म ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ४३८ जना कोरोना निको भएर घर फर्केका छन् । १५६ जना आइशोलेसनमा छन् । जिल्लामा हालसम्म ११ हजार १६५ जनाको पीसीआर विधीबाट स्वास्थ्य जाँच गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ८ गते बिहीबार