कोहलपुर ।
नेपाली काँग्रेस कोहलपुरका युवा नेता भूम भण्डारीले कोहलपुर नगरपालिका सूचना मैत्री नभएको आरोप लगाएका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले स्थानीय सरकारको रुपमा रहेको कोहलपुर नगरपालिका सूचना मैत्री नभएको आरोप लगाएका
हुन् । उनले आफूले नगरपालिकामा अहिलेसम्म ३० वटा सूचना माग गरेको जानकारी दिए । नेता भण्डारीका अनुसार कोहलपुर नगरपालिकाले अहिलेसम्म तीमध्ये जम्मा २ वटा मात्रै सूचना दिएको छ ।
‘मैले कोहलपुरमा हुने गरेका हरेक गतिविधिका सूचना माग्दै आएको छु । अहिलेसम्म ३० औँ पटक मागिसके । जम्मा दुई वटाको मात्रै सूचना पाएको छु । नगरपालिका सूचनामैत्री छैन’ पत्रकार सम्मेलनमा उनले भने । कोहलपुर नगरपालिका चरम अपारदर्शी तरिकाले चलिरहेको नेपाली काँग्रेसका नेता एंव सूचना अभियान्ता भूम भण्डारीले आरोप लगाए । संविधानमा उल्लेखित सूचनाको हक अनुसार स्थानीय सरकारले गरेको हरेक क्रियाकलापको सूचना माग्नु नागरिकको अधिकार भएको उनको भनाई छ । तर अहिलेसम्म कोहलपुर नगरपालिकाले मैले मागेका सूचनाहरुका वितरण दिएको छैन ।
नागरिकको अधिकार नै कुण्ठित हुने गरी सूचना लुकाउनु चरम अपारदर्शिता भएको नेता भण्डारीले बताए । उनका अनुसार आर्थिक बर्ष ०७६÷०७७ का कात्तिक मसान्तदेखि असार मसान्तसम्म जनप्रतिनिधिहरुले ९ महिनाको भत्ता बुझेका छन् । तर कोहलपुर नगरपालिकाले २०७६ असार ८ गतेदेखि कुनै भत्ता नलिने निर्णय गरिएको दाबी गरेको छ ।
यता कोहलपुर नगरपालिका प्रवक्ता माधव रिजाल जनताले सूचना मागेमा नदिने वा लुकाउने भन्ने सवाल नै नहुने बताउँछन् । उनका अनुसार हरेक व्यक्तिले नगरपालिकासँग सूचना माग्न पाउँछ । तर सूचनाको प्रयोजन अनिवार्य उल्लेख गर्नुपर्छ । उनले स्थानीय सरकारसँग सूचना माग गर्ने नाममा कतिपय अवस्थामा प्रतिसोध साँध्ने, दुःख दिने मनसायले समेत प्रेरित हुने गरेको बताए ।









प्रतिक्रिया दिनुहोस्