अख्तियारमा स्थानीय तहका उजुरी बढे



सुर्खेत ।

कर्णाली प्रदेशमा गत आर्थिक वर्ष २०७६/०७७ मा अख्तियारमा परेका कुल मुद्धा मध्ये आधा जति स्थानीय तह विरुद्धका मुद्धा रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा परेका कुल १ हजार ८० मध्ये आधा स्थानीय तह विरुद्ध परेका मुद्धा रहेका छन् । प्रदेशका सबै स्थानीय तह विरुद्ध पाँच सय ५४ उजुरी परेको कार्यालयले जनाएको छ । ती मध्ये तीनसय १८ फछ्यौट भएका छन् भने अझै दुई सय ३६ उजुरी उपर अनुसन्धान हुन बाँकी रहेको छ ।

बाँकी रहेका मध्ये केही अनुसन्धानको क्रममा रहेको अख्तियारका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा परेका कुल मुद्धा मध्ये ६ सय १३ फछ्यौट भइसकेका छन् ।

अझै चार सय ६७ उजुरीमाथि अनुसन्धान भइरहेको भइरहेको उनले जानकारी दिए । कर्णालीका १० वटा जिल्ला मध्ये सबै भन्दा बढी सुर्खेत जिल्लामा उजुरी परेका छन् ।

सुर्खेतमा मात्रै गत आवमा दुई सय ३८ उजुरी परेका थिए । ती मध्ये एकसय ५७ वटा उजुरी फछ्यौट भइसकेका छन् भने ८१ उजुरी प्रक्रियामा रहेको सूचना अधिकारी सापकोटाले जानकारी दिए ।

यस्तै दैलेखका कुल एक सय ८७ वटा उजुरी मध्ये ६८ वटा उजुरी अझै फछ्यौट हुन बाँकी रहेका छन् । कालिकोट जिल्लाका कुल एक सय दुई उजुरी मध्ये ३३ वटा फछ्यौट भएको र ६९ बाँकी रहेको उनको भनाई रहेको थियो । सल्यानका कुल ८० वटा उजुरी मध्ये ६० फछ्यौट भइसकेको छ भने अझै २० बाँकी नै छन् ।

यसैगरी जाजरकोटका एक सय ४४ वटा उजुरी मध्ये ८४ वटा उजुरी फछ्यौट भइसकेका छन् । मुगु जिल्लाका ५३ वटा उजुरीमध्ये उजुरी फछ्यौटको संख्या २० र फछ्यौट हुन बाँकी संख्या ३३ वटा रहेको छ । डोल्पा जिल्लाका ४९ उजुरीमध्ये २५ वटा उजुरी फछ्यौट भइसकेको छ भने २४ वटा अझै बाँकी रहेका छन् ।

जुम्ला जिल्लाका ८४ उजुरीमध्ये ३६ वटा फछ्यौट भइसकेको छन् र अझै ४८ वटा बाँकी छन् । हुम्ला जिल्लाका ६६ वटा उजुरी मध्ये फछ्यौट भएका उजुरीको संख्या २६ र हुन बाँकी ४० वटा छन् ।

रुकुम पश्चिमका ७८ वटा उजुरीमध्ये ५४ वटा उजुरी फछ्र्यौट भएको र २४ वटा बाँकी रहेको सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १ गते सोमबार