शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ३ का जीवन थापा दुर्घटनाका कारण अपांग भएपछि उपचार अभावमा छटपटाइरहेका थिए । गर्भवती श्रीमती सरिता थापा पनि सुत्केरी अवस्थाको पीडाले छटपटाइरहेकी थिइन् । एक वर्षकी छोरी निरुता र दुई वर्षको छोरा सुनिल भोकभोकै बस्न बाध्य थिए । दैनिक ज्याला मजदुरी गरेर घरको खर्च चलाइरहेका थापा गत असार २३ गते दुर्घटनामा परेपछि उनको परिवारको बिचल्ली नै परेको थियो ।
२८ असार २०७७ मा ‘गर्भवती श्रीमती र बच्चा भोकै बस्न बाध्य’ शिर्षकमा मिसन टुडेमा समाचार प्रकाशित भयो । समाचार प्रकाशित भएपछि बैजनाथ गाउँपालिका तथा वडा नम्बर ३ का अध्यक्ष राम चरण थारुको सक्रियतामा थापा दम्पतिको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार सुरु भएको छ । वडा कार्यालयले बुधबार एम्बुलेन्समा राखेर दुवै जनालाई अस्पताल ल्याइपु¥याएको थियो । तर जीवनकी श्रीमती सरिता भने असार ३० गते राती १ बजे घरमै सुत्केरी भएकी थिइन् । अभावै अभावमा छटपटाइरहेको थापा दम्पतिमा खुसी थपियो ।
‘श्रीमतीले छोरो जन्माइन् । श्रीमानले उपचार पाए । कोही नहुनेका भगवान हुँदा रहेछन् । भगवानको कृपाले राम्रै भयो’ उनीको उपचार र राहात संकलनमा खटिएकी इन्दिरा कुँवरले भनिन् । उनका अनुसार गाउँपालिका तथा केही व्यक्तिको सहयोगको कारण बेसाहारा थापाको परिवारमा खुसी छाएको छ । उनीहरुको उपचार तथा अन्य सहयोगको लागि आफू सदैब लागि पर्ने उनले बताइन् । घरमै सुत्केरी भइसकेकी श्रीमती सरितालाई भने अस्पतालमा ल्याएर सामान्य उपचारपछि घर फर्काइएको वडाअध्यक्ष थारुले जानकारी दिए ।
‘सुत्केरीलाई उपचारपछि अवस्था सामान्य देखिएपछि घर लगिएको छ’ उनले भने, ‘उहाँको स्वास्थ्यमा केही समस्या आए नजिकैको स्वास्थ्य चौकीले हेर्नेछ ।’ टाउकोमा चोट र खुट्टा भाँचिएका जीवनको भने उपचार भइरहेको वडाअध्यक्ष थारुले बताए । उनको थप उपचारको खर्च बैजनाथ गाउँपालिकाले नै व्यहोर्नेछ । ‘मलाई बुधबार मात्रै पत्रकार मार्फत जानकारी भयो । पछि गाउँपालिकाका अध्यक्षले समेत त्यहाँको अवस्था बुझ्न भन्नु भयो । पछि त्यहाँ पुग्दा अवस्था निकै नाजुक रहेछ । एम्बुलेन्समा हालेर अस्पताल पु¥याउने काम भयो ।’
मिसन टुडेलाई उनले भने । मिसन टुडे दैनिकमा समाचार पढेदेखि नै राहत वितरण र उपचारको लागि पहल गरिरहेका चन्द्र प्रसाद पौडेलले समाजमा रहेका दुःखी असहाय र बेसाहारा परिवारको उपचारको लागि गाउँपालिकाले गरेको सहयोग सह्रानीय रहेको बताए । समाजमा रहेका आर्थिक रुपमा विपन्न तथा असहायहरुलाई सबैले सकेजति सहयोग गर्नु पर्ने भन्दै उनले आफूहरुले समेत केही सहयोग पुगोस् भनेर राहत उठाएको जानकारी दिए । ‘समाचार पढेपछि मन थाम्न सकिन ।
पत्रिका हातमा लिएर राहत संकलनको लागि जुटेको थिए । सबैको सहयोगमा उपचार सम्भव भएको छ’ खुशी हुँदै पौडेलले भने । बुधबार उनले थापाकै घरमा गएर वडा अध्यक्ष थारुलाई नगद १४ हजार ५ सय रुपैयाँ हस्तान्त्रण गरेका थिए । यसअघि समाचार प्रकाशित भएकै दिन कोहलपुर –११ राधाकृष्ण टोलका स्थानीय चन्द्र प्रसाद पौडेलको अगुवाईमा थापा परिवारको घर खर्च र उपचार खर्चको लागि राहत संकलन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्