बाँकेका दुई पालिका कोरोना मुक्त



नेपालगञ्ज ।

बाँकेमा पहिलो पटक गत बैशाख १९ गते एक पुरुषमा कोरोना संक्रमण पुष्टि भयो । पहिलो पटक नेपालगञ्ज उपमहानगरपालिका एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । अहिलेसम्म बाँकेमा आठ वटै स्थानीय तहमा गरेर कुल ३ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

बुधबार साँझसम्म जिल्लाका दुई पालिकाका सबै कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् । डुडुवा र नरैनापुर गाउँपालिकाका सबै संक्रमितहरु निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । ‘नरैनापुर र डुडुवाका सबै संक्रमितहरु घर फर्किसक्नुभएको छ’ उनले भने, ‘दुई पालिका अहिलेलाई कोरोना मुक्त भएका छन् ।’

बुधबार नेपालगञ्ज उप–महानगरपालिका १४ का दुई महिलामा कोरोना पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा २२ र ४५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु आमाछोरी हुन् । दुवै जना केहीदिनअघि बर्माबाट आएर महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका थिए । बाँकेमा अब २० जना संक्रमितहरु मात्र आइसोलेसनमा उपचार गराइरहेका छन् ।

२ सय १५ जना विभिन्न पालिकाका क्वारेन्टिनहरुमा बसिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा २, कोहलपुर नगरपालिकामा १०, खजुरामा ४, राप्तीसोनारीमा २, जानकी र बैजनाथ गाउँपालिकामा १/ १ जना गरी २० जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

बाँकेमा कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको छ । भेरी अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा बुधबार बाँकेका दुई जना सहित कालिकोटका १, रुकुम पश्चिमका ३ र दाङका ४ गरी १० जनामा कोरोना संक्रमण देखिएको थियो । अस्पतालको प्रयोगशलामा हालसम्म १४ हजार २ सय ५० वटा नमुना परीक्षण गरिएको छ । ती मध्ये ६ सय ७८ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २५ गते बिहीबार