प्रदेश ५ सरकार सच्याउँदै कानुन



बुटवल ।

स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारीसरह पाउँदै आएको सुविधामा कटौती गर्न प्रदेश ५ सरकारले कानून संशोधन प्रस्ताव गरेको छ । सार्वजनिक रुपमा चर्को आलोचना भएपछि सो सम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको थियो । प्रदेश सरकारको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६ संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघिको कानुनमा स्थानीय तहका पदाधिकारीका रुपमा वडाध्यक्षले सुविधा खाइपाइ आएका थिए । उपमहानगरपालिका र नगरपालिकाका वडाध्यक्षले खानेपानी तथा सरसफाइ शीर्षकमा मासिक पाँच हजार र विद्युत् तथा ऊर्जा शीर्षकमा पाँच हजार गरी १० हजार सुविधा तथा गाउँपालिकाका वडाध्यक्षले मासिक चार हजार सुविधा खाइपाइ आएकामा कानुनमा कटौती गर्ने प्रस्ताव गरिएको बताइएको छ । यसअघि कानुनमा वडाध्यक्ष र स्थानीय तहका पदाधिकारीलाई भुलवस एउटै किसिमले परिभाषित गरी सेवासुविधाको व्यवस्था गरिएकाले कानुन संशोधन गर्नुपरेको हो ।

यस्तै बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोगको प्रदेश सरकारको सिफारिसमा मनोनीत हुने सदस्यमा आयोगको गठन आदेशको दफा ३ को खण्ड ग बमोजिम दाङ जिल्ला तुलसीपुर नगरपालिका वडा नं ११ निवासी शोभाराम बस्नेत क्षेत्रीलाई मनोनयनका लागि सिफारिस गरेको छ । बैठकले प्रदेश सरकार, प्रदेश नं ५, सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ को दोस्रो संशोधन स्वीकृत गर्नेसमेत निर्णय गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १८ गते बिहीबार