डिल्ली शाही । कोहलपुर ।
मृगौलाको समस्याका कारण दैनिक डायलासिस गर्नु पर्ने बिरामीहरु लकडाउनमा निकै समस्यामा परेका छन् । कोरोना कहरका कारण सरकारले विगत तीन महिनायता लागु गरेको लकडाउनका कारण डायलासिसका बिरामीहरु अलपत्र अवस्थामा दैनिकी गुजारा गर्न बाध्य भएका हुन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ती बिरामीहरुको अवस्था निकै दयनीय छ । आर्थिक समस्याका कारण होटलमा भाडा माझेर उपचार गर्न बाध्यता रहेको उनीहरुको भनाई छ । लामो समयदेखि अस्पतालमा उपचाररत मृगौला पीडित मध्येका एक हुन्, बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ का गोपाल विक । उनी कोहलपुरमा दुई वर्षदेखि निरन्तर डायलासिस गरिरहेका छन् ।
तीन महिना यता विकको परिवार अस्पताल नजिकैको एक होटलमा भाडा माझेर उपचार गराइरहेको छ । उनका अनुसार हप्ता दुई हप्ता डायलासिस गर्नुपर्ने बाध्यता र आर्थिक अवस्था नाजुक भएका कारण होटलमा भाडा माझ्नुको विकल्प छैन । ‘लकडाउन भन्दा पहिला छिमेकीहरुले सहयोग गर्थे । हप्ताको दुई पटक डायलासिस गर्नुपर्छ । उपचारको लागि अन्य खर्च गर्ने,खाने र बस्ने समस्या छ’ उनले भने । उनको उपचार र स्याहारको लागि भने उनकै श्रीमतीले सहयोग गर्दै आएकी छन् । जो श्रीमानको दैनिक खर्च चलाउनको लागि नजिकैको होटलमा भाडा माझिरहेकी छन् । लकडाउनले आफूहरुको बिचल्ली नै बनाएको गोपालकी श्रीमती आस्था विक बताउँछिन् । ‘यहाँ न हामीसँग खानाको व्यवस्था छ । न त बस्ने बाँस छ । नियतीले श्रीमानको यस्तो हालत बनायो । श्रीमानको उपचार गर्नको लागि होटलमा भाडा माझ्दै आएकी छु ।
‘आँखाबाट आँशु खसाल्दै भनिन् । उनीहरु तीन महिनादेखि हस्पिटलको दोस्रो तलामा रहेको भूईमा सुत्दै आएका छन् । घरमा तीन छोरी र एक छोरा आफन्तको जिम्मामा छन् । ६ जनाको परिवार पाल्न गोपाल भारतमा मजदुरी गर्थे । खुट्टामा सामान्य समस्या देखिएपछि अस्पताल आएका उनलाई डाक्टर दुवै मृगौला फेल भएको बताए । दैनिक डायलासिस गर्न समस्या भएका उनीहरुलाई नयाँ मृगौला प्रत्यारोपण गर्न असम्भव जस्तै छ । विकको जस्तै अस्पतालमा समस्या भोगिरहेका अर्को मृगौला रोगी हुन्, सुर्खेतको भेरीगंगा नगरपालिका ९ की ३५ वर्षीय गाइने कामी । उनी पनि विगत दुई वर्षदेखि कोहलपुरमा डायलासिस गर्दै आएका छन् । हप्ताको दुई पटक मृगौलाको डायलासिस गर्नु पर्नेको उनको अवस्था झन् दयनीय छ । ‘सुर्खेत देखि कोहलपुर आउजाउ गरिरहनु पर्छ । आउन जान मात्रै ५ देखि १० हजार खर्च हुन्छ ।’
मिसन टुडेसँग कुराकानी गर्दै उनले भने । लकडाउनका कारण सार्वजनिक यातायात नचल्ने भएकोले निकै समस्या भोग्नु परेको उनले बताए । उनका अनुसार झन्झटिलो उपचार प्रक्रिया र सुर्खेतबाट सधै आइरहनु पर्ने समस्याका कारण उपचारमा भन्दा भाडा र खाना खर्च निकै बढी छ । तीन महिनायता भने अस्पताल कै भूईमा सुत्छन् । साँझ विहानको खानको लागि माग्नु बाहेक अर्को विकल्प उनीहरुसँग छैन । बाहिरी जिल्ला मात्रै होइन यहाँ कै स्थानीयहरुले समेत समस्या भोग्नु पर्ने अवस्था छ । कोहलपुर नगरपालिका ५ का हस्त बहादुर शाही मृगौला पिडितको डायलासिस गर्दा निकै समस्या भोग्नु पर्ने बताउँछन् ।
उनले पनि केही वर्षयता कोहलपुर डायलासिस गर्दै आइरहेका छन् । उनले आफू मृगौला प्रत्यारोपणको तयारीमा रहेको भन्दै लकडाउनका कारण समस्या भएको बताए । उनको मृगौला प्रत्यारोपरण काठमाण्डौं चिटिङ्ग हस्पिटलमा गर्ने तयारी भएको थियो । डायलासिस गर्दा गर्दै आफू हैरान भएको उनको भनाई छ ।
दैनिक २२ जनाको डायलासिस
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा अहिले आठ वटा डायलासिस गराउने मेसिन सञ्चालनमा रहेका छन् । विरन हेल्थ केयरद्वारा सञ्चालित हेमोडायलासिस विभागका व्यवस्थापक शिशिर शाहीले दैनिक २२ जनाको डायलासिस गरिरहेको जानकारी दिए । डायलासिस गर्नका लागि कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ का जम्मा गरी ८० जना व्यक्तिहरुले डायलासिस गराइरहेको उनले बताए । यस्तै डाक्टर देवेन्द्र आचार्यका अनुसार डायलासिसका लागि आर्थिक रुपमा विपन्नहरु बढी आउने गरेको बताए ।
‘कतिपय लकडाउनका कारणले डायलासिस गराउन आउँनका लागि निकै सास्ती भोगिरहेका छन्’ उनले भने, ‘डायलिसिस गर्दा पनि खासै फाइदा भने हुँदैन । आफूले गर्न चाहेको काम गर्न सकिँदैन, न त प्रशस्त मात्रामा पानी नै पिउन मिल्छ, न त हिडडुल गर्न नै ।’









प्रतिक्रिया दिनुहोस्