कृष्ण ओली । कोहलपुर ।
बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिय महिलाको उपचारका क्रममा सोमबार साँझ साढे ६ बजे अस्पतालमा मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले मृत्यु भएकी महिलामा कोरोना देखिएको पुष्टि गरे । ‘कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने, ‘मंगलबार राती आठ बजेमात्र रिपोर्ट आएको थियो ।
शवको व्यवस्थापन बुधबार मात्र हुनेछ ।’ उनको सोमबार दिउँसो कोरोना परीक्षणको लागि स्वाब संकलन गरेर भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।
अस्पतालमा मृतक महिला गत जेठ ३० गते भर्ना भएकी थिइन् । दायाँ फोक्सामा समस्या देखिएपछि महिला अस्पताल भर्ना भएको अस्पताल स्रोतले मिसन टुडेलाई जानकारी दिएको छ ।
अस्पतालले मंगलबार राती सवा १० बजेसम्म कुनै आधिकारीक धारणा भने सार्वजनिक गरेको छैन । कोरोना संक्रमित महिलाको शवंलाई अहिले अस्पतालको शव गृहमा राखिएको छ ।
यसअघि बाँकेको नरैनापुरमा समेत २५ वर्षिय मृतक युवामा समेत कोरोना पुष्टि भएको थियो । यो सँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई जना पुगिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्