‘क्वारेन्टिनमा बसेकाको पीसीआर अनिवार्य गरेका छौँ’



अहिले कोरोनाले विश्वलाई नै आक्रान्त बनाइराखेको छ । नेपालमा समेत कोरोना संक्रमितको संख्या पाँच हजार पाँच सय बढी पुगिसकेका छन् । अझै तिव्र रुपमा संक्रमण बढ्ने क्रममा छ । यसै सन्दर्भमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण, क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापन र त्यहाँ रहेका व्यक्तिहरुको अवस्थाका बारेमा वडाअध्यक्ष मदन कुमार वलीसँग यानबी साहुले गरेको कुराकानी ।

१. तपाइको वडामा कोरोना रोकथाम र नियन्त्रणका लागि के कस्ता कार्यहरु गरिरहनु भएको छ ?

विश्वमा महामारीका रुपमा देखिएकोे कोरोना भाइरसका कारण अ‍ेरिका, चीन, बेलायत, भारत लगायतका शक्तिशाली मुलुकहरु आक्रान्त बनिरहेको अवस्थामा हाम्रो देश पनि यसबाट अछुत रहन सकेन । अहिलेसम्म यस भाइरसको औषधी पत्ता नलागेपनि रोकथाम तथा नियन्त्रणका लागि सबै मुलकहरु लागि परेको अवस्था छ । नेपालमा पनि यसका संक्रमितहरु दिन प्रतिदिन बढिरहेका छन् भने प्रायःसबै जिल्लामा संक्रमण देखिसकेको छ । अहिलेसम्म विभिन्न जिल्लाहरुमा पाँच हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अन्य जिल्लाहरु जस्तै बाँके जिल्ला पनि यसका संक्रमितहरु बढिरहेका छन् । बाँके जिल्लाका सबै पालिकाहरु कोरोना रोकथाम तथा नियन्त्रणका लागि जुटिरहेका अवस्थामा राप्तीसोनारी गाउँपालिका वडा नं.२ ले पनि वडामा विभिन्न सचेतनामूलक कार्यक्रमदेखि लिएर संक्रमण देखिएको ठाउँबाट आएका नागरिकहरुको व्यवस्थापन र उनीहरुको चेकजाँच कार्यहरु गरिएको छ । शुरु शुरुमा वडामा हामी वडाका सबै गाउँ टोलहरुमा गएर सचेतनामुलक प्रचार प्रसार, घरदैलो लगायतका कार्यक्रमहरु गर्यौ । कुनै पनि काम गर्दा सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुने, सेनिटाइजारको प्रयोग गर्ने जस्ता कार्यहरुकमा पनि सचेत गराएका छौँ । अहिले पछिल्लो समय संक्रमण फैलिने क्रम बढेपछि भारत लगायत अन्य तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा क्वारेन्टिनमा लैजाने गरेका छौँ । अर्को कुरा क्वारेन्टिनमा रहेका नागरिकहरुको व्यवस्थापन, खानपान, उनीहरुको स्वास्थ्य उपचार, सरसफाइ, सुरक्षा लगायतका कार्यमा विशेष जोड दिएका छौँ । पछिल्लो समय व्यपार व्यवसायहरु पनि खुलेकाले व्यवसायी र उपभोक्ताहरुलाई सामाजिक दुरी कायम गर्न भनेका छौँ ।

२. वडा नं.२ मा कति क्षमताको क्वारेन्टिन निर्माण गर्नु भएको छ ? त्यहाँ रहेका व्यक्तिहरुको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

अहिले हामीले खासगरी हाम्रो वडाका दुई ठाउँमा क्वारेन्टिनको व्यवस्थापन गरेका छौँ । दुबै ठाउँमा गरि करिव १०० जना भन्दा माथि अट्न सक्ने क्षमता छ । वडाभित्र रहेका लक्ष्मी माध्यमिक विद्यालय, मदुई र लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पस, कचनापुरलाई क्वारेन्टिनको रुपमा विकास गरेका छौँ । लक्ष्मी मावि मदुईमा अहिले ६८ जना बसिरहनु भएको छ । त्यहाँ एउटा कोठामा ३ देखि ५ जना सम्म राख्ने गरिएको छ । क्याम्पसको क्वारेन्टिनमा १३ जना राखेका छौँ । त्यहाँ रहेका व्यक्तिहरुको व्यवस्थापनका सन्दर्भमा खाना, नास्ताको व्यवस्था वडाको तर्फबाट मिलाएका छौँ । दुबै क्वारेन्टिनमा गरेर ५ जना खाना बनाउने मानिसको पनि व्यवस्था गरिदिएका छौँ । उहाँहरु मार्फत साँझ बिहान दुई दुई पटक खाना नास्ताको व्यवस्था गरिएको छ । त्यसको साथै सरसफाई भने क्वारेन्टिनमा बसेको व्यक्तिहरु स्वयं आफैले गरिरहनु भएको छ ।

३. क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सुरक्षाका लागि सुरक्षा प्रवन्ध कसरी मिलाउनु भएको छ ?

कयौँ ठाउँहरुमा क्वारेन्टिनमा राखेका व्यक्तिहरु भाग्ने गरेको पनि पाइन्छ । तर यहाँ हाम्रो वडामा अहिलेसम्म त्यस्तो कुनै व्यक्ति भाग्नु भएको छैन् । यद्यपी क्वारेन्टिन र त्यहाँ रहेका व्यक्तिहरुमा विभिन्न समस्याहरु आउन सक्ने भएकाले सुरक्षा व्यवस्था हुन जरुरी हुन्छ । त्यस कारण हामीले पनि त्यहाँको सुरक्षाका हवल्दारको नेतृत्वमा प्रहरी टोली खटाएका छौँ । सुरक्षाकर्मीका साथै स्वास्थयकर्मीको टोली पनि २४ घण्टा खटिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै विशेष गरी स्वास्थ्य र सुरक्षाकर्मीहरुले ड्यूटी गरिरहनु भएको छ । जनप्रतिनिधि लगायत अन्य सरोकारवाला निकायका व्यक्तिहरुने पनि अनुगमन तथा निगरानी गरिरहेको अवस्था छ । अहिलेसम्म त्यस्तो कुनै समस्या आएको छैन् । त्यहाँ रहेका व्यक्तिहरु पनि एकदमै अनुशासित र मर्यादित ढंगले बसिरहनु भएको छ ।

४. तपाइको वडामा अहिलेसम्म भारतबाट कति जना व्यक्ति आउनु भएको छ र कति जना घर फर्किनु भयो ?

कोरोनाको कहरपछि सरकारले गरेको लकडाउनका कारण कयौँ नागरिकहरु सिमा क्षेत्रमा नै धेरै दिनसम्म अलपत्र पनि पर्नुभयो । जब नेपाल र भारत सकारको सहमतिपछि दुबै देशका नागरिकहरु इच्छाअनुसार आ–आफ्नो देश फर्कन सक्ने निर्णय भयो । त्यसपछि राप्तीसोनारी गाउँपालिका वडा नं.२ मा अहिलेसम्म करिव १ सय ११ नागरिक आउनु भएको छ । अझै पनि केहि व्यक्तिहरु फाट्टफुट्ट रुपमा आइरहनु भएकोले संख्या बढ्न सक्छ ।

५. तपाइको वडामा अहिलेसम्म कति जनाको कोरोना जाँच गर्नुभयो ? तिमध्ये कति जनाको रिपोर्ट पोजेटिभ आयो ?

हामीले पहिलो चरणमा १७ जनाको पीसीआर गरेका छौँ । उनीहरुमध्ये तीन जनामा कोरोना पोजेटिभ देखियो । रिपोर्ट पोजेटिभ आएका तीन जनालाई तत्कालै उपचारका लागि आइसोलेसनमा पठायौँ । नेगेटिभ रिपोर्ट आएका अन्य १४ जनालाई सात दिन होम क्वारेन्टिनमा बस्ने गरेर घर पठायौ । पोजेटिभ रिपार्ट देखिएका तीन जनाको १३ दिनपछि पुनः पीसीआर परीक्षण गर्दा तीनै जनाको रिपोर्ट नेगेटिभ आयो । उहाँहरुलाई पनि १४ दिनपछि सात दिन होम क्वारेन्टिनमा बस्ने गरेर डिस्चार्ज गरियो । विचमा फेरि ८ जनाको आरडिटी जाँज गरेर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सात दिन होम क्वोरिन्टनमा बस्ने गरेर घर पठायौँ । पछिल्लो समय हामी आरडिटी जाँच नगर्ने निष्कर्षमा पुगेका छौँ । गाउँपालिकाका सबै वडाका क्वारेन्टिनमा बसेका व्यक्तिहरुको अनिवार्य पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा मात्रै घर पठाउने गरेका छौँ । सोही अनुसार अहिले फेरी पछिल्लो चरणमा ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ । एक दुई दिनमै आउँछ होला । अहिलेसम्म पीसीआर ८८ र आरडिटी ८ गरेर ९६ जनको गरीक्षण गरेका छौँ । उनीहरुमध्ये तीन जनामा संक्रमण पुष्टि भयो । उहाँहरु पनि अहिले स्वस्थ भएर फर्किसक्नु भएको छ । अन्य बाँकीको पनि छिट्टै पीसीआर परीक्षण गर्छौ ।

६. कयाँै ठाउँहरुमा क्वारेन्टिनमा खचाखच मानिसहरु राखेको पाइन्छ । त्यसले झनै संक्रमण फैलन सक्ने जोखिम बढेको छ । यहाँहरुको वडामा के छ ?

यो समस्या हाम्रो वडामा पनि केहि मात्रामा देखिएको छ । यसमा वडाका आफ्नै वाध्यताहरु पनि छन् । साधन स्रोतको कमि छ । भारतबाट आउने मानिसहरु पनि अलि धरै आउनु भयो । यद्यपी हाम्रो वडामा रहेको लक्ष्मी मावि मदुईको क्वारेन्टिनमा क्षमता अलि बढी भएकोले अहिले त्यहाँ व्यवस्थापन गरेका छाँै । एउटा कोठामा ३ देखि ५ जनासम्म राखेर व्यवस्थापन गरिरहेका छौँ । क्वारेन्टिनमा बसेका दाजुभाइहरु पनि सन्तुष्ट नै हुनुहुन्छ । र अनुगमन गर्न आउने सम्वन्धित निकायका व्यक्तिहरुले पनि राम्रो भन्नु हुन्छ । हामीलाई पनि क्वारेन्टिन व्यवस्थापनमा त्यस्तो एकदमै कमजोरी गरे जस्तो लागेको छैन ।

७. तपाइको वडामा निर्माण गरिएका क्वारेन्टिन अपुग हुने अवस्था आएको खण्डमा कसरी व्यवस्थापन गर्नु हुन्छ ?

अहिले पनि हाम्रो दुई वटा क्वारेन्टिन मध्ये सामुदायिक क्याम्पसमा १३ जना मात्रै बसिरहनु भएको छ । त्यहाँ अझै १५ जना जति राख्न सकिने अवस्था रहन्छ । त्यसका साथै पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएर घर फर्कनको संख्या धेरै रहेकोले अहिले बसिरहेका व्यक्तिहरु पनि घर जाने भएकाले अझै ती क्वारेन्टिन पनि खाली हुने हुन्छ । त्यसमा पनि अझै अपुग भएको अवस्थामा अन्य विद्यालयहरुमा व्यवस्थापन गर्छौं । भारतबाट आउनेहरुको संख्या पनि कम हुँदै गएकोले बस्ने ठाउँ अपुग नै होला जस्तो लाग्दैन । वडाहरुमा पनि गएर भारत लगायत अन्य तेस्रो मुलक गएका व्यक्तिहरुको तथ्यांक लिएका छौँ । अहिले नै घर फर्कन अब कम नै हुनुहुन्छ ।

८. लामो समय क्वारेन्टिनमा बस्दा त्यहाँ बसेका व्यक्तिहरुलाई ‘बोर’ झण्जट लाग्ने सक्ने हुन्छ । त्यसको लागि योगा अथवा कुनै मनोरञ्जनको व्यवस्था छ ?

क्वारेन्टिनमा बसेका व्यक्तिहरु सामाजिक दुरी कायम गर्दै साँझपख विभिन्न नाचगान गरिरहनु भएको हुन्छ । हामीले पनि उहाँहरुलाई रोगसँग लड्ने क्षमता वृद्धि गर्नका लागि समय समयमा त्यहाँ गएर हौसला प्रदान गर्ने गरेका छौँ । त्यसका साथै वाईफाईको पनि व्यवस्था भएकाले उहाँहरुलाई मनोरञ्जन गर्न सहज भएको छ । धेरै जसो समय उहाँहरु सामाजिक सञ्जालमा नै व्यस्त देखिनु हुन्छ । त्यस्तो कुनै पिर, चिन्ता लिएको देखिदैन । मजासँग घरमा जस्तै गरी बसिरहनु भएको छ ।

८. राहत वितरण कार्यलाई कसरी व्यवस्थापन गर्नु भएको छ ?

पहिलो चरणमा वडाका दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न परिवारलाई हामीले राहत वितरण गर्यौं । त्यो क्रम बैशाख महिना भरि चल्यो । हाम्रो वडामा २५०० घरधुरी छ । त्यसमध्ये पनि दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न परिवारलाई छनौट गरेर करिब ९२५ घरधुरीलाई राहत वितरण गर्यौं । पालिकाको नम्सअनुसार परिवार संख्या हेरेर चार जनासम्म सदस्य भएको परिवारलाई १२ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, एक पोका नुन वितरण गरियो भने चार जना भन्दा धेरै सदस्य भएको परिवारलाई १६ किलो चामल, ३ किलो दाल, १ लिटर तेल र २ प्याकेट नुन वितरण गरिएको थियो । अहिले पछिल्लो चरणमा भने राहत वितरणमा गाउँपालिकाको ध्यान पुग्न सकेको छैन । क्वोन्टिन र आइसोलेसन व्यवस्थापनमा नै बढि समय दिनु पर्ने भएकाले राहत वितरण गर्न सकेका छैनौँ । अब छिट्टै गाउँपालिकाको बैठक बसेर राहत वितरणको विधि बनाउने र वितरण गर्ने भन्ने कुरा भइरहेको छ ।

९. राहत विरतण कार्य प्रभावकारी भएन अथवा पहँुचका आधारमा वितरण गरियो भन्ने गुनासाहरु पनि आएका छन् । यसमा के भन्न हुन्छ ?

राहत वितरणमा अनियमितता नहोस् भनेर पहिले नै हामीले गाउँपालिकामा बैठक बसेर छुट्टै कार्यविधि बनायौँ । सबै वडा कार्यालयहरुमा छुट्टै स्टक गोदाम राख्ने र त्यसको लागि तयारी अवस्थामा एउटा गाडी पनि राख्यौँ । जसको घरमा खाद्यान्न सकिन्छ अथवा जसको चुलो बल्ने अवस्थामा रहँदैन । उहाँहरुले फोन गर्न वित्तिकै वडाबाट राहत स्वरुप खाद्यान्न लिएर उहाँहरुको घर घरमा पु¥याउने व्यवस्था मिलाएका थियौँ । त्यसले गर्दा पनि राहतमा अनियमितता वा पहँुचका आधारमा वितरण गर्ने सम्भावना भएन ।

१०. अन्त्यमा कोरोना भाइरसको संक्रमणबाट बच्न वडावासीहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?

अहिले विश्व महामारीका रुपमा देखिएको कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त बनेको छ । यसबाट हामी र हाम्रो देश पनि अछुतो रहन सकेन । त्यस कारण हामी सबैले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका निति नियमहरुको पालना गरौँ । अनावश्यक रुपमा घर बाहिर ननिस्बकौँ । भिडभाडमा नजाऔँ । जानै परेमा मास्क र सेनिटाइजरको प्रयोग गरौँ । कुनै पनि काम गर्दा सामाजिक दुरी कायम गरौँ । यो रोग लाग्नबाट आफू पनि सचेत बनौँ र अरुलाई पनि सचेत बनाऔँ । आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्दै पटक पटक साबुन पानीले हात धुने, फोहोर हातले नाक मुख नछुने गर्यौ भने हामी कोरोनाबाट बच्न सक्छौँ भनेर आम वडावासीहरुमा सुझाव दिन चाहन्छु र आग्रह पनि गर्न चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १ गते सोमबार