बैजनाथलाई एक्सरे मेसिन सहयोग



कोहलपुर ।

इन्रुडेक बाँकेले बैजनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहित डिजिटल एक्सरे मेसिन सहयोग गरेको छ । जापान सरकार, आड्रा जापान र आड्रा नेपालको सहयोगमा इन्रुडेक बाँकेले बैजनाथ गाउँपालिकामा स्वास्थ्य सामाग्री डिजिटल एक्सरे मेसिन प्रदान गरेको हो । लामो समयदेखि गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको इन्रुडेकले स्वास्थ्य क्षेत्रको विकासको लागि एक्सरे मेसिन सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले जनाए अनुसार शुक्रबार एक कार्यक्रमका बीच इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायले एक्सरे मेसिन गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीलाई हस्तान्तरण गरेका थिए । एक्सरे मेसिन सहयोग गरेको विषयमा जानकारी दिदै अध्यक्ष ठकुरीले सहयोगी संस्था र समवन्य गर्ने संस्थालाई धन्यवाद प्रकट गरे । उनका अनुसार एक्सरे मेसिन सहयोगले बैजनाथ क्षेत्रको स्वास्थ्य क्षेत्रको विकास र स्वास्थ्य सेवाका लागि सहयोगी हुनेछ । ‘हामीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । यसले हामीलाई ठूलो राहत मिलेको छ । हामी अब आवश्यक जनशक्तिको व्यवस्थापन गरि सञ्चालनमा ल्याउँछौ’ उनले भने । इन्रुडेक बाँकेका अध्यक्ष रोकायले यहाँको स्वास्थ्य क्षेत्रमा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३१ गते शनिबार