दुई दिन नै टिकेन बाँके प्रशासनको निर्णय, पसल व्यवसाय खोल्ने निर्णय रद्द गरियो



नेपालगञ्ज ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आफैले गरेको निर्णय दुई दिनमा नै रद्द गरेको छ । गत बुधबार साँझ मात्र प्रशासनले बार तोकिदिएर सोही अनुसार जिल्लाका पसल व्यवसाय खोल्न दिने निर्णय गरेको थियो । तर त्यसको दुई दिनपछि शुक्रबार दिउँसो प्रशासनले उक्त निर्णय रद्द गरिएको जनाएको छ । अब पूरानो निर्णय नै लागू हुने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जारी गरेको सूचना उल्लेख गरिएको छ । २२ र २३ गतेको पुसल व्यवसाय खुल्लालाई हेर्दा कोरोना संक्रमणको जोखिम बढ्ने अवस्था देखिएकाले बार अनुसार पसल खुल्ने निर्णय रद्द गरिएको उपाध्यायले जानकारी दिए ।

प्रशासनको निर्णय अनुसार बिहीबार र शुक्रबार बाँकेका अधिकांश पसल व्यवसाय खुलेका थिए । त्यसले गर्दा बजारहरुमा मानिसहरुको भिडभाड रहेको थियो । सोही कारण आफैले गरेको निर्णय खारेज गर्नुपरेको प्रशासनले जनाएको छ । बुधबार राजनितिक दल, जनप्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थितीमा लकडाउन केही खुकुलो पार्ने निर्णय गरिएको थियो । सोही बिषयलाई लिएर गृह मन्त्रालयले बाँके प्रशासनलाई स्पष्टीकरण सोधेपछि शुक्रबार बसेको बाँके जिल्ला विपत व्यवस्थापन समितीको आकस्मिक बैठकले लकडाउनलाई कडाई गर्ने निर्णय गरेको स्रोतले जानकारी दिए ।

लकडाउन खुकुलो पार्ने निर्णय सार्वजनिक भएपछि गृह मन्त्रालयले बाँकेको विपत व्यवस्थापन समितीलाई लिखित स्पष्टीकरण सोधेको थियो । मन्त्रालयको दबाबपछि बाँके प्रशासन एवं विपत व्यवस्थापन समितीले लकडाउनलाई पुनः कार्यान्वयन गरि अतिआवश्यक वस्तु बाहेक अन्य सेवा सुविधाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गर्नुपरेको हो । यहाँका व्यवसायीहरु, नेताहरु तथा सर्वसाधारणको दवाब परेपछी समितिको बैठकले लकडाउनको विकल्प खोज्ने क्रममा गत बुधबार विभिन्न विकल्प सहित फरक फरक दिन फरक फरक व्यवसाय खोल्न पाउने गरी निर्णय गरेको थियो ।

सोही अनुसार बिहीबार र शुक्रबार पसल व्यवसाय खुलेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार आजदेखि पहिलेको निर्णय अनुसार नै प्रशासन अगाडि बढ्नेछ । आजदेखि जिल्लामा अतिआवश्यक वस्तुका पसल बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खोल्न पाइनेछ । अन्य पसल व्यवसाय भने पूर्ण रुपमा बन्द गर्नुपर्नेछ । सवारी साधनहरुलाई समेत पूर्ण रुपमा रोक लगाइनेछ । बाँकेमा दुई दिन खुकुलो भएको लकडाउन आजबाट फेरी कडा बन्ने देखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २४ गते शनिबार