सम्पादकिय : कार्यान्वयनमा ध्यान



कोरोना कहरका बिच संघिय सरकारले आगामी आर्थिक वर्षका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेको छ । अन्य वर्षभन्दा यसपटक भने बजेट ल्याउनेबेला नेपाल मात्र होइन विश्वको नै परिस्थिती अर्के थियो । केही महिनायता विश्व नै कोरोना कहरबाट लडिरहेको छ । नेपाल पनि कोरोनासँग लडिरहेको बेला आर्थिक वर्ष २०७७÷०७८ को लागि बजेट संसदमा प्रस्तुत गरिएको हो । बजेट खासगरी कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित रहेर आएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले त्यो भन्दा कम बजेट ल्याएको हो । कोरोनाले आर्थिक स्रोतहरु समेत सुकाइदिएको छ ।

कोरोना कहरका बिच आउने बजेट पहिलाको जस्तो महत्वकांक्षी भने हुने कसैले आशा लिएका थिएनन् । आगामी आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ९ खर्ब ४८ अर्ब र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै वित्तीय व्यवस्थाका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।आगामी आर्थिक वर्षको अनुमानित खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड बेहोरिनेछ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ जुटाइने छ । आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने सरकारको विश्वास छ । कोरोना सँग लडिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड छुट्याइएको छ ।

त्यसैगरी कोरोनाभाइरस नियन्त्रणका लागि मात्रै ६ अर्ब रुपैयाँ छुट्याइएको छ । उक्त रकम कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा नियन्त्रणका लागि तत्काल आवश्यक पर्ने औषधि, उपकरण तथा उपचारका लागि छुट्याएको हो । स्वास्थ्य क्षेत्रमा गत वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा सरकारले उक्त क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले कर्मचारीको खर्च समेत घटाएको छ । कोरोनाले खस्कीएको अर्थतन्त्रलाई समेत उस्काने गरी बजेट ल्याइएको अधिकारीहरु बताउँछन् । बजेट ल्याउनुमात्रै ठूलो कुरा पक्कै पनि होइन । बजेटको कार्यान्वयन र स्रोत जुटाउनु नै आगामी आर्थिक वर्षमा सरकारका लागि टाउको दुखाईको विषय भन्ने पक्कै पनि छ । कोरोनाको कहर कहिलेसम्म हुने हो भनेर अझैसम्म पनि टुङ्गो छैन । त्यसैले अहिले सरकारलाई मुख्य चुनौती नै स्रोत जुटाउनु र बजेट कार्यान्वयनमा लैजानु नै हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १८ गते आइतबार