कोरोनाको ‘हटस्पट’ बनेको नरैनापुरको अवस्थामा नियन्त्रणमा रहेको प्रजिअ कुरुम्बाङले जानकारी दिए । अब स्थानीय स्तरमा नै कोरोना संक्रमितलाई राख्नको लागि आइसोलेसनको तयारी थाल्नुपर्नेमा उनले जोड दिएका थिए ।
नेपालगञ्ज ।
बाँकेको दुर्गम स्थानीय तह नरैनापुर गाउँपालिकामा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ पुगेका छन् । कोरोनाको ‘हटस्पट’ भनेर चिनिने उक्त स्थानमा सांसद र सुरक्षा अधिकारीसहित उनी बिहीबार पुगेका हुन् । नरैनापुरमा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने १ जनाको मृत्यु समेत भइसकेको छ । बुधबार कार्यालयमा सिडिओ कुरुम्बाङ हाजिरी भएका थिए ।
प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेको दोस्रो दिन सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको नरैनापुरमा उनी पुगेका हुन् । सिडिओको साथमा सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी ‘नमुना’, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओली, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान लगायतका अधिकारीहरु समेत थिए ।
जिल्लाबाट गएको सांसद तथा सुरक्षा अधिकारीको टोली गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह लगायत स्थानीयबासिन्दा तथा सुरक्षा निकायसँग छलफल गरेको थियो । स्थलगत अनुगमनपछि नरैनापुरको अवस्था नियन्त्रणमा रहेको पत्रकारहरुलाई जानकारी दिए । टोलीले नरैनापुरको लक्ष्मणपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय, क्वारेन्टिनको समेत अनूगमन गरेको थियो ।
सो क्रममा गाउँपालिका अध्यक्ष शाहले प्रमुख जिल्ला अधिकारी लगायत स्थलगत अनूगमनमा आएपछि सम्पूर्ण नरैनापुरबासीमा हौसला र आत्मविश्वास बढेको बताएका थिए । टोलीले कटकुइयामा रहेको दशगजा क्षेत्र तथा सीमा नाकाको समेत स्थलगत अनूगमन गरेको थियो । उनले कोरोना नियन्त्रणका लागि अग्रसर भएर लाग्न स्थानीय तहका जनप्रतिनिधी, सुरक्षाकर्मी र कर्मचारीलाई आग्रह गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्