सुदीप अधिकारी । बर्दिया ।
मुलुकमा लकडाउनका कारण लामो समयदेखि बजार बन्द छ । होटेल व्यवसाय, हाटबजार सबै बन्द छन् । यस्तो बेलामा किसानका बारीमा यतीखेर तरकारी भरिभराउ छ । बजारमा तरकारी तथा फलफुलको बिक्रि सहज नहुँदा किसानका तरकारी बारीमै सड्दै छन् । बारीको तरकारी बेच्ने ठाउँ नभएपछि गुलरिया नगरपालिकाका किसानले यतीखेर बारीमा तरकारी सडाउनु भन्दा घरघरमा गएर तरकारी सित्तैमा बाँडिरहेका छन् ।
तरकारी बिक्रि नभएपछि गुलरिया नगरपालिका– ५ बालापुरका किसान यतीखेर नगरमा सित्तैमा तरकारी बाँड्न बाध्य भएका हुन् । यहाँका किसानले आइतबार १५ कुन्टल टमाटर, २ कुन्टल करेला र १ कुन्टल लौका नगरका विभिन्न स्थानमा सित्तैमा वितरण गरेको बालापुर गाउँका तरकारी किसान तथा जनप्रतिनिधी सोविन्द्र चौधरीले जानकारी दिए । गुलरिया नगरपालिकाको बालापुर गाउँ तरकारीको पकेट क्षेत्र हो ।
यहाँका अधिकाशं किसान तरकारी खेतीमै निर्भर छन् । बालापुर गाउँको बबई टोल, ठूलो टोल, सम्झना टोल, हरेली लगाएत टोलका अधिकाशं किसान तरकारी खेती गर्ने गर्छन् । उनीहरुले बबई नदीको बगर तथा घरको खेतमा तरकारी उत्पादन गर्ने गर्छन् । अघिल्ला वर्ष किसानका तरकारी किन्न व्यापारीहरु गाडी लिएर बारीमै आउँथे । तरकारी बेच्न किसानलाई भ्याइनभ्याइ हुन्थ्यो । तर यस वर्ष उनीहरुको तरकारी खरिद गर्न कुनै व्यापारी नै आएनन् । तरकारी बिक्रि हुन नपाएपछि बारीमै तरकारी सड्न थालेको छ । तरकारीको पिक सिजनमा मुलुक लकडाउन भएका कारण तरकारी किसान निकै मर्कामा परेका छन् । किसानका तरकारी बिक्रिका लागि कुनै निकायले पनि सहयोग नगरेको किसानहरुको गुनासो छ । यतीखेर किसानको लगानी बालुवामा पानी झै भएको छ । फाइदा त परै जावस् बिउँ तथा मलको लगानी समेत किसानले उठाउन पाएनन् ।
‘किसानको ठूलो लगानी र मेहनत खेर गयो । तरकारी बेचेर फाइदा त कुरै छौडौँ । बिउँको लगानी समेत किसानले पाएनन्,’ तरकारी किसान सोवेन्द्र चौधरीले दुखेसो सुनाए । बारीमै तरकारी सडाउँनु भन्दा नगरबासीलाई सित्तैमा दिए तरकारीको सदुपयोग हुने ठानेर किसानले तरकारी बाँडेको उनले बताए । कृषि जन्य उत्पादनले बजार नपाए पछि सडकमा फालेर विरोध जनाउने परिपाटीको विकल्पमा सित्तैमा बाँडेर किसानले उदाहरणिय काम गरेको स्थानियबासी बताउँछन् । किसानले तरकारी सित्तैमा बाँडेको चर्चा सामाजिक सञ्जालमा व्यापक भएको छ । सञ्जालमार्फत अधिकाशंले किसानलाई राहत तथा सहयोगको कार्यक्रम ल्याइनु पर्ने, बजारीकरणका लागि पहल गरिनु पर्ने सुझाव दिएका छन् ।
किसानले सित्तैमा तरकारी बाड्नु पर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दुखद् भएको गुलरिया नगरपालिका ५ का वडा सदस्य युवराज श्रेष्ठले बताए । किसानले उत्पादन गरेको कृषिजन्य बस्तु बिक्रि नभएर सित्तैमा बाड्नु पर्ने अवस्था आउनु राम्रो नभएको र आगामी दिनमा यसको बजारीकरणका लागि सम्वन्धित निकायले बेलैमा ध्यान पुर्याउनु पर्ने वडा सदस्य श्रेष्ठले बताए । वडा सदस्य श्रेष्ठले तरकारी बिक्रि नभएर मर्कामा परेका किसानका लागि वडा कार्यालयबाट आवश्यक राहत सहयोग गर्नुका साथै किसानलाई क्षतीपूर्तीका लागि अन्य निकायमा समेत पहल गरिने बताए ।









प्रतिक्रिया दिनुहोस्