नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा आइतबार यो वर्षकै बढी गर्मी भएको छ । जल तथा मौसम विज्ञान कार्यालय, फिल्ड अफिस राँझाका अनुसार आइतबार साँझ मापन गरिएको नेपालगञ्जको तापक्रम ३९.५ डिग्री सेल्सियस रहेको थियो । न्यूनतम तापक्रम भने २६.३ डिग्री रहेको छ ।
फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकले आइतबारको तापक्रम नेपालगञ्जको यो वर्षकै बढी गर्मी भएको बताए । नेपालगञ्जमा यसअघि मे २१ तारिखमा ३९ डिग्री तापक्रम रहेको थियो । सन् २०१९ को मे २० मा नेपालगञ्जको तापक्रम ४३.५ डिग्री मापन गरिएको उनले जानकारी दिए । यो गत वर्षको अधिक तापक्रम हो । नेपालगञ्ज गर्मीमा अत्याधिक गर्मी र जाडोमा अत्यधिक जाडो हुने शहरको रुपमा चिनिन्छ । केही दिनदेखि यहाँ पानी परेको छैन ।
पानी नपर्दा तापक्रम बढिरहेको हो । गर्मी बढेसँगै मानिसहरुलाई सास्ती समेत भएको छ । लकडाउनका कारण घरभित्रै बस्नुपरेका कारण मानिसहरुलाई गर्मीमा झन् सास्ती भएको हो । दिन तथा रातमा गर्मी बढेसँगै कोहलपुर, नेपालगञ्ज, खजुरा लगायतका शहरहरुमा बत्ति केहीबेर काट्न सुरु भइसकेको छ । यसपाली अरुबेला जसरी भने बत्ति काटिएको छैन । जसले स्थानीयलाई राहत दिएको छ । मानिसहरुले पनि आइतबार वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्