प्यारालाईसिस रोगीलाई निर्धनको सहयोग



कोहलपुर ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था क्षेत्रीय कार्यालय कोहलपुरले कोहलपुर र बैजनाथका २ जना प्यारालाईसिस रोगीलाई आर्थिक सहयोग गरेको छ । कार्यालयले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका दुई जनालाई उपचारको लागि प्रति व्यक्ति ५ हजारका दरले कुल १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । कोहलपुर वडा नम्बर ९ गणेशटोलकी माया केसीलाई सहयोग गरेको थियो । उनी संस्थाद्धारा सञ्चालित गणेशटोल महिला समुहकी सदस्य समेत हुन् ।

यस्तै बैजनाथ गाउँपालिकाका वडा नम्बर ४ की रुपकौडा दसौदीलाई सहयोग गरिएको जनाइएको छ । उनी पनि संस्थाद्धारा सञ्चालित बानियाभार महिला समुहकी सदस्य हुन् । मंगलबार उनीहरुको घर मै गएर केसीका छोरा धिरज र दसौदीका श्रीमान् हरीकृष्णको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको शाखा प्रमुख पुष्पा कुमारी सुवेदीले बताइन ।

उनका अनुसार सहयोग रकम माया केसीलाई कोहलपुर ९ का वडाअध्यक्ष ठाकुर प्रसाद थारु र दसौदीलाई सोही वडाका अध्यक्ष कालि बहादुर सिंहले हस्तान्तरण गरेका थिए । नेपाल सरकार तथा स्थानीय निकायको लकडाउन नीति नियमको पालना गर्दै पूर्ण रुपमा सामाजिक दुरी तथा उच्च सर्तकता अपनाई सम्पन्न गरिएको थियो ।

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले गम्भीर रोग बाट पिडित ग्राहक सदस्यहरु तथा निजको परिवार सदस्यलाई आफ्नो सामाजिक उत्तरदायित्व तथा नीतिअनुरुप गम्भीर रोग पीडितलाई आर्थिक राहत प्रदान गरेको समेत उनको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ७ गते बुधबार