बर्दियामा १८ हजारलाई राहत



रावन विश्वकर्मा, बाँसगढी ।

बर्दियामा सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित १८ हजार ४ सय बढी परिवारलाई राहत वितरण गरिएको छ । लामो समयको लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाई दैनिक छाक टार्न समस्यामा परेका १८ हजार ४ सय ५१ विपन्न परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । कार्यालयका अनुसार सबै स्थानीय सरकारले पहिलो र दोस्रो चरणको राहत वितरण कार्यक्रम अन्र्तगत सो राहत वितरण गरेका हुन् ।

बर्दियामा रहेका ८ स्थानीय तह मध्ये ठाकुरबाबा नगरपालिकामा ३ हजार ७ सय २३ परिवार, मधुवन नगरपालिकामा २ हजार ६ सय ४७ परिवार, बढैयाताल गाउँपालिकामा २ हजार ५ सय ५२ परिवारले राहत पाएका छन् । भने राजापुर नगरपालिकामा २ हजार ४ सय २७ परिवार, गेरुवा गाउँपालिकामा २ हजार ९५ परिवार, गुलरिया नगरपालिकामा १ हजार ७ सय २६ परिवार, बारबर्दिया नगरपालिकामा १ हजार ६ सय ६५ परिवार र बाँसगढी नगरपालिकामा १ हजार ६ सय १६ परिवारलाई राहत वितरण गरिएको छ ।

४ हजारको कोरोना परीक्षण

बर्दियामा हालसम्म ४ हजार ५६ जनाको कोरोनाको नमूना परीक्षण गरिएको छ । पीसीआर विधिबाट ६ सय ५६ जना र आरडीटी विधिबाट ३ हजार ४ सय जनाको कोरोनाको नमूना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । पीसीआर विधिबाट गरिएको नमूना परीक्षणको क्रममा ६ सय ५५ जनाको रिपार्ट नेगेटिभ आएको छ भने १ जनामा कोरोना संक्रमण देखिएको थियो ।

अझै १ सय २६ जनाको स्वाब संकलनको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । स्थानीय तहगत हिसाबमा बर्दियाको गुलरियामा ६ सय २० जना, मधुवनमा ५ सय २७, राजापुरमा ४ सय २ जनाको परीक्षण गरिएको थियो । गेरुवामा ३ सय २२, ठाकुरबाबामा १ सय ८९, बारबर्दियामा १ सय ८४ र बारबर्दियाको सामुदायिक क्वारेन्टिाईनमा रहेका १ हजार ३० जनाको आरडीटी विधिबाट दु्रत परीक्षण गरिएको हो ।

त्यस्तै बाँसगढी नगरपालिकामा ६६ जना, बढैयाताल गाउँपालिकामा ३७ जना, जिल्ला प्रहरी कार्यालय बर्दियामा ११ जना र कन्ट्याक टेसिङ मार्फत सम्पर्कमा आएका १२ जना गरी कुल ३ हजार ४ सय जनाको आरडीटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको थियो । रिपोर्ट नेगेटिभ देखिएपछि सबैलाई थप सात दिन होम क्वारेन्टिनमा बस्ने सर्तसहित परिवारको जिम्मा लगाइएको हो । अब बर्दियामा ६ सय १९ जना मात्रै क्वारेन्टिनमा रहेका छन् । बर्दियामा सबै स्थानिय तहहरुमा गरी १ सय २ क्वारेन्टिनमा ३ हजार ५ सय ९३ बेड संख्या निर्माण गरिएको छ । निषेधाज्ञा जारीपछि बर्दियामा बाहिरी जिल्लाबाट १३ हजार ५ सय ८७ जना भित्रिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ६ गते मंगलबार