बर्दियामा साढे ४ हजारको कोरोना परीक्षण



रावन विश्वकर्मा, बाँसगढी ।

बर्दियामा अहिलेसम्म करिब ४ हजार बढीको कोरोना परीक्षण गरिएको छ । हालसम्म गरिएका ४ हजार बढी परीक्षणमा एक जनामा मात्र कोरोना संक्रमण पुष्टी भएको छ ।

बर्दियामा हालसम्म कुल ४ हजार २८ जनाकोे कोराना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । कोरोना भाइरसको नमूना परीक्षण गरिएका मध्ये राजापुर ५ की एक ११ वर्षिया बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले अहिले उनको बाँकेस्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचार भइरहेको बताए । उनका अनुसार बर्दियामा शुक्रबारसम्म पीसीआर परीक्षणका लागि ६ सय ५६ जनाको स्वाब संकलन गरी पठाइएका मध्ये ५ सय ८४ जनाको रिपोर्ट आएको छ ।

५ सय ८४ जना मध्ये १ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने बाँकी ५ सय ८३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । अझै ७१ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यस्तै बर्दियाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा १४ दिन बसेका ३ हजार ३ सय ७२ जनाको आरडीटी विधिबाट दु्रत परीक्षण गरिएको थियो ।

दु्रत परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछि सबैलाई होम क्वारेन्टाइनमा पठाइएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । अब बर्दियाका विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा ४ सय ७ जना बसिरहेका छन् ।

जसमध्ये ३ सय ३६ जना पुरुष र ७१ जना महिला रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३ गते शनिबार