नीति तथा कार्यक्रमः सिक्टा सञ्चालनदेखि नौवस्ता औद्योगिक क्षेत्र निर्माण



कोहलपुर ।
संघिय सरकारको आगामी आर्थिक वर्ष २०७८/८८ को नीति तथा कार्यक्रममा बाँकेका केही महत्वपूर्ण क्षेत्र समेटिएका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यहाँका दीर्घकालिन महत्व राख्ने क्षेत्र समेटिएका हुन् ।

बाँके जिल्लामा रहेका विद्युत, सिंचाई, औद्योगिक क्षेत्र तथा भन्सार लगायतका क्षेत्रहरु समेटिएका छन् । कार्यक्रममा बाँकेको नेपालगञ्ज एकिकृत जाँच चौकी स्थापना गर्ने, बुटवल– कोहलपुर प्रसारण लाइन विस्तार गर्ने समेटिएको छ ।

यसैगरी बाँकेमा रहेको सिक्टा सिंचाई आयोजनाको पश्चिम नहर सञ्चालनमा ल्याउने बताइएको छ । सिक्टा नहर सञ्चालनमा आए बाँकेमा ठूलो मात्रामा खेतीयोग्य जमिनमा सिचाई सुविधा पुग्नेछ । निर्माणाधिन यो आयोजना सरकारको राष्ट्रिय आयोजना अन्तरर्गत पर्दछ ।

बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्र निर्माणले निरन्तरता पाउने भएको छ । नौवस्ता क्षेत्र प्रदेश ५ कै गौरवको आयोजना समेत हो ।

नीति तथा कार्यक्रममा यस नौवस्ता औद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउने उल्लेख गरिएको छ । नौवस्ता औद्योगिक क्षेत्र गत वर्षको नीति तथा कार्यक्रममा समेत समावेश भएको थियो ।

यस्तै विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसबाट प्रतिरक्षा र त्यसबाट हुने असर केन्द्रीत भएको बजेट ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै पूर्व–पश्चिम राजमार्गलाई ४ लेनको बनाइने भएको छ । नारायणगढ–बुटवल खण्डलाई ४ लेनमा विस्तार गर्ने कार्य सुरु भइसकेको राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिइन् ।

राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्व–पश्चिम राजमार्गको सम्पुर्ण खण्डलाई ४ लेनको द्रुत मार्गको रुपमा विकाश गरिने बताएकि हुन् । नारायणगढ–बुटवल खण्ड र कमला–कन्चनपुर खण्डको विस्तार कार्य ३ वर्षभित्र सम्पन्न गरिने उनले जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३ गते शनिबार