कोहलपुरका ३० जनाको रिपोर्ट नेगेटिभ



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक ३० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको
छ ।

पहिलोपटक कोहलपुरमा वैशाख २८ देखि ३० गतेसम्म स्वाब संकलन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको प्रयोगशालामा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोहलपुर नगरपालिका ४, ८ र ९ मा रहेको धार्मिक स्थलमा बसोबास गर्ने तथा विदेशबाट आएका नागरिकको स्वाब संकलन गरिएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेले बेलनपुरमा आइतबार स्वास्थ्य शिविर सञ्चालन गरेरै स्वाब संकलन गरेका हो । भेरी अस्पतालको प्रयोगशाला रहेको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए ।

‘कोहलपुर क्षेत्रबाट संकलन गरिएका ३० वटै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ’ उनले भने, ‘यो तपाई हामि सबैको लागि खुसीको कुरा हो ।’ कोहलपुरमा पहिलोपटक समुदाय स्तरबाट स्वाब संकलन गरेर पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो ।

स्थानीय तहबाट माग भएमा अझै पनि समुदाय स्तरमा स्वाब संकलन गरेर पीसीआर विधि परीक्षण गर्न सकिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३१ गते बुधबार