कोहलपुर ।
लिपुलेकमा नेपाली भूमि मिचेर भारतले सडक बनाएको विरोधमा बाँकेको कोहलपुरमा प्रर्दशन गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कमिटीले प्रर्दशन गरेको हो । भारतीय विस्तारवादको हस्तक्षेप विरुद्ध नेविसंघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्माको ओलीको पुत्ला जलाएको थियो ।
नेपाल विद्यार्थी संघ बागेश्वरी क्याम्पसका सभापति रामप्रसाद पाण्डेले सीमा अतिक्रमणका विरुद्ध प्रर्दशनसहित दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाइएको जानकारी दिए । केही दिनअघि भारतले नेपाली भूमि लिपुलेकमा कैलाश मानसरोवर जोड्ने सडक निर्माण सम्पन्न गरेर उद्घाटन गरेको थियो ।
सोहीको विरोधमा नेपालका साथै विदेशमा रहेका नेपालीहरुले प्रर्दशन गरिरहेका छन् । सोमबार समेत कोहलपुर सहित देशका विभिन्न भागहरुमा भारत विरुद्ध प्रर्दशन भएको थियो । नेपाल सरकारले पनि भारतले आफ्नो भूमिमा सडक निर्माण गरेको भन्दै विरोध जनाइसकेको छ । सरकारले औपचारीक पत्र नै पठाएर सो कार्यको विरोध गरेको हो । यही विषयलाई लिएर अहिले नेपालमा सडकदेखि संसदसम्म तातिएको छ ।









प्रतिक्रिया दिनुहोस्