राप्तीसोनारीमा धानको बिउ वितरण



कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ ले किसानहरुलाई अनुदानमा धानको बिउ वितरण गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ कार्यालयको आर्थिक सहयोग र सिद्धेश्वर कृषक सहकारी संस्थाको समन्वयमा सोमबारबाट धानको बिउ वितरण गर्न सुरु गरिएको हो । वडा भित्रका किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गर्न सुरु गरिएको वडा अध्यक्ष रामलखन थारुले जानकारी दिए ।

‘धानको ब्याड राख्ने समय भएसँगै किसानहरुलाई बिउको अभाव नहोस् भनेर बिउ वितरण गर्न सुरु गरेका हौं’ उनले भने, ‘वडाका ३ सय बढी किसानहरुलाई बिउ वितरण गर्ने लक्ष्य लिएका छौं ।’ सोमबार र आज मंगलबार वडाको कुसुम्या सामुदायिक वन उपभोक्तामा पर्ने गाउँहरुमा बिउ वितरण गरिनेछ ।

त्यसैगरी बैशाख ३१ र जेठ १ गते भगवती सामुदायिक वन उपभोक्ता, जेठ २ र ३ गते राम जानकी सा.व.उ. मा, जेठ ४ र ५ गते मण्डफवा वनमा र जेठ ६ र ७ गते पोखरामाटा सामुदायिक वन अन्तर्गत पर्ने गाउँहरुका किसानहरुलाई वितरण गरिने तालिका रहेको छ । गाउँमा ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण भएपछि कृषकहरुलाई सहज हुने बताइएको छ ।

‘गत वर्ष फौजी किराले धान नष्ट गरिदिएपछि किसानहरुसँग बिउ राख्ने धान थिएन’ वडा अध्यक्ष थारुले भने, ‘यहाँका किसानलाई लकडाउनको समयमा घरदैलोमा नै बिउ पु¥याउने उद्देश्यले अनुदानमा बिउ वितरण गरिएको हो ।’ उनका अनुसार किसानहरुलाई राधा चार र राम धान प्रजातीका बिउ वितरण गरिएको थियो । पहिलो दिन सोमबार ७४ जनालाई धानको बिउ वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३० गते मंगलबार