विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाँके जिल्लामा पनि देखापरेपछि यहाँका सबै पालिकाहरुमा उच्च सर्तकता अपनाइएको छ । सरकारले जारी गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन आ–आफ्ना पालिका प्रवेश गर्ने सिमानाकाहरुमा कडाई गर्नुका साथै शिल समेत गरिएको छ । पालिकाले अत्यावश्यक काम बाहेक अन्य सवारी आवागमन तथा भिडभाड नगर्न आग्रह गरेका छन् । जिल्लाको छिमेकी पालिका नेपालगञ्जमा समेत यसको संक्रमण देखा परेपछि बैजनाथ गाउँपालिकाले पनि निगरानी बढाएको छ । खजुरातर्फबाट गाउँपालिका प्रवेश गर्ने नाका शिल नै गरेको भने अन्य नाकाहरुमा समेत आवश्यक निगरानी बढाएको छ । यसै सन्र्दभमा बैजजनाथ गाउँपालिकामा कोरानाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडास्तरबाट के कस्ता प्रयासहरु भइरहेका छन् भनेर यानबी साहुले वडा नम्बर १ का अध्यक्ष रुप बहादुर मल्लसँग गरेको कुराकानी ।
१. कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यालयबाट के कस्ता कार्यहरु भइरहेका छन् ?
- कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हामीले प्रचार प्रसार तिव्रता दिएका छौँ । हरेक गाउँ टोलमा गएर सचेतनामूलक जिङ्गल बजाउने, माईकिङ गर्ने लगायतका कार्यहरु गरिरहेका छौँ । त्यसका साथै वडावासीहरुको घरदैलोमा गएर नियमित सावुन पानीले हात धुने, सेनिटाईजर प्रयोग गर्ने, मास्कको प्रयोग गर्ने, हाछ्यू गर्दा रुमालले मुख छोप्न, कुनै पनि कामहरु गर्दा सामाजिक दूरी कायम गर्ने, अनावश्यक भिडभाड नगर्ने जस्ता कार्यहरु वडावासीहरुलाई सिकाउँदै सचेत गराउने गरेका छौँ । वडास्तरबाट नागरिकहरुका हितमा हुने सबै कार्यहरु भइरहेका छन् ।
२. यतिबेला आफू सुरक्षित रहनका लागि संक्रमण फैलिएका क्षेत्रबाट केहि व्यक्तिहरु लुकिछिपी वडाहरुमा प्रवेश गर्न सक्ने संभावना हुन्छ । यसको निगरानी कसरी गर्नु भएको छ ?
- बैजनाथ गाउँपालिका वडा नं.१ चिसापानी क्षेत्र भनेको कर्णाली प्रदेश प्रवेश गर्ने मुख्य हाईवे भएकोले नेपालगञ्जमा कोरोनाका संक्रमित नदेखिदाको समयमा सामान्य आवातजावत भएपनि अहिले छिमेकी पालिका नेपालगञ्जमा संक्रमण देखापरेपछि अत्यावश्यक बाहेक सबै आवागमन बन्द गरिएको छ । कोहलपुर नगरपालिकाले नेपालगञ्जबाट प्रवेश गर्ने नाका शिल गरेजस्तै बैजनाथ गाउँपालिकाले पनि खजुरा क्षेत्रबाट बैजनाथ प्रवेश गर्ने नाकाहरु बन्द गरेको छ । त्यसले गर्दा बाहिरबाट आउने व्यक्तिहरु सहजै प्रवेश गर्न सक्ने अवस्था छैन । त्यसका साथै अपरिचित व्यक्तिहरुलाई गाउँ÷टोलमा निषेध गरिएको छ । बाहिरबाट ल्याएर तरकारी बेच्ने, खसी बोका, कुखुरा खरिद विक्रि गर्न आउनेहरुलाई सबै गाउँ÷टोलमा निषेध गरेका छौँ । गाउँ टोलकै कोहि व्यक्ति बाहिरबाट गाउँमा आएको छ भने होम क्वारेन्टाइनमा बस्न सुझाव दिएका छौँ ।
३. तपाईले आफ्नो वडाबाट कति जना व्यक्ति तथा घरपरिवारलाई राहत वितरण गर्नुभयो ?
- अहिलेसम्म हामीले वडाका दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न ३ सय घर परिवारलाई राहत वितरण गरिसकेको छौँ । त्यसबाट करिव १५ सय नागरिकहरु लाभाविन्त भएका छन् । अझै पनि केहि व्यक्ति तथा घरपरिवार राहत पाउनबाट छुटेको गुनासो आएको छ । त्यसको लागि वडामा गठन गरिएको समतिले उनीहरुको विवरण संकलन गर्ने कार्य गरिरहेको छ । प्रत्येक घरघरमै पुगेर उनीहरुको अवस्थाका बारेमा जानकारी लिएर विवरण संकलन गरिरहेका छौँ । विवरण संकल भइसकेपछि त्यहि विवरणका आधारमा उनीहरुलाई छिटै राहत वितरण गरिनेछ ।
४. कयाँै ठाउँमा राहत वितरण गर्दा वास्तविक पीडित भन्दा पहुँचवालाहरुले पाए भन्ने गुनासाहरु पनि आएका छन् । तपाईको वडामा के छ ?
- राहत वितरण गर्दा पहुँच वा कुनै राजनीतिक आस्थाका आधारमा वितरण गर्नु अत्यन्तै गलत हो । यतिबेला आफ्नो अरुको नभनेर समस्यामा परेका व्यक्ति तथा परिवारलाई वितरण गरिनु पर्छ । कुनै ठाउँमा भयो होला तर हाम्रो वडामा त्यस्तो भएको छैन । सरकारको मापदण्डअनुसार नै तल्लो तहसम्म पुग्ने गरी राहत वितरण गरिएको छ । हामीले राहत वितरण गर्दा पनि सबै राजनितिक दलका प्रतिनिधि, समाजसेवी, वुद्धिजीवीहरुसंग छलफल गरेर दिने गरेका छौँ ।
५. लकडाउनका कारण कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु विक्रि नहुँदा खेतबारीमै कुहिने अवस्था छ । वडा कार्यालयले यसको व्यवस्थापन गर्न सक्ने अवस्था हुँदैन ?
- हाम्रो वडाको सन्दर्भमा हेर्ने हो भने कृषकहरुले धरै कृषिजन्य वस्तु उत्पादन गरेर खेतबारी मै कुहिएर खेरजाने र विक्रि नहुने अवस्था देखिएको छैन । केही किसानहरुले उत्पादन गरेका काँक्रा विक्रि नभएको भन्ने गुनासो आएको थियो । तर त्यसको लागि प्रदेश सरकारले सञ्चालन गरेको कृषि एम्बुलेन्सलाई खबर गरेर लिन पठाएका थियौँ । त्यसबाट कम मुल्य पर्ने र गाउँघरमै राम्रो मुल्यमा विक्रि हुन थालेपछि अहिले गाउँमै विक्रि भइरहेको छ । हाम्रो वडामा कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरु त्यसरी विक्रि नहुने, खेतबारीमै कुहिएर खेल जाने अवस्था अहिले सम्म छैन ।








प्रतिक्रिया दिनुहोस्