नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमण फैलिएको वडा नम्बर ८ जोलहनपुरवामा राहत वितरण गर्ने भएको छ । यो टोलमा अहिले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्र घोषणा गरिएपछि खाद्यान्नको समस्या हुनसक्ने भन्दै उपमहानगरपालिकाले त्यहाँ राहत बाँड्ने निर्णय गरेको हो । शुक्रबार नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सो टोलका ८० घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
नेपालगञ्जमा शुक्रबार साँझसम्म २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि समन्वयका लागि प्रत्येक वडामा समिति गठन गर्ने निर्णय समेत गरेको थियो ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार कार्यपालिका बैठकले लकडाउनका मापदण्ड पुरा गर्दै सामाजिक दुरी कायम गरेर विकास निर्माणका कार्य सुरु गर्ने बैठकले निर्णय समेत गरेको छ । यसैगरी नगरमा हाईमाष्ट जडानका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको थियो ।
बैठकले नगरभित्र बसोबास गर्ने विपन्न समुदायका नागरिकले राहत माग गरेमा स्थलगत अनूगमनका आधारमा मात्रै वितरण गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले नारी विकास केन्द्रमा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्