४२ करोडको खाद्य सामग्री आयात



नेपालगञ्ज ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमलाई मध्यनजर राख्दै सरकारले लगाएको बन्दाबन्दीका बीच नेपालगञ्ज नाकाबाट ४२ करोड बढीको खाद्यान्न आयात भएको छ । लकडाउनको १९ दिनको अवधिमा नेपालगञ्ज नाका भएर ४२ करोड ९ लाख ६८ हजार ९ सय १९ रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल नेपाल आयात भएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार लकडाउन भएपछि चैत ११ देखि २९ गतेसम्म २७ करोड दुई लाख १६ हजार ४ सय ३१ रुपैयाँ मूल्य बराबरको ४६ लाख १३ हजार २५ किलो चामल आयात भएको छ । भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाका अनुसार २९ करोड २८ लाख ६ हजार ४ सय ६० रुपैयाँको ८९ लाख तीन हजार ६ सय ६५ किलो मकै तथा एक करोड ४५ लाख ६९ हजार ६३ रुपैयाँको दाल यो नाका भएर नेपाल आयात भएको छ ।

बन्दाबन्दीका बीच अत्यावश्यक खाद्यान्न नेपालगञ्ज नाका हुँदै नेपाल भित्रिएको हो । भन्सार प्रमुख निरौलाका अनुसार लकडाउन सुरु भएदेखि दुई करोड ७१ लाख नौ हजार ८ सय १८ रुपैयाँको १० लाख ७० हजार ४ सय ६ किलो आलु र ८५ लाख ९४ हजार ९ सय ३९ रुपैयाँ बराबरको ४९ लाख आठ हजार ८ सय २५ किलो गोलभेंडा आयात भएको थियो ।

यो अवधिमा दुई करोड ३७ लाख ९४ हजार ७ सय ३४ रुपैयाँको फलफूल र ३५ लाख ७६ हजार ९ सय ४६ रुपैयाँको विभिन्न थरिका तरकारी पनि आयात भएको छ । लकडाउनका बेला अन्य सामग्री आयात नभए पनि अत्यावश्यक सामग्री भने नियमित रुपमा आयात भइरहेको उनले जानकारी दिए । नेपालगञ्ज नाका भएर ठूलो मात्रामा चिनी समेत नेपाल भित्रिएको छ । लकडाउन सुरु भएदेखि २९ चैतसम्म ४ करोड ३८ लाख २० हजार ५ सय ३३ रुपैँयाको नौ लाख १६ हजार किलो चिनी आयात भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३ गते बुधबार