रेडियोबाट एसईई तयारी कक्षा सञ्चालन



कोहलपुर ।

बाँकेको कोहलपुरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीहरुलाई लक्षित गर्दै सोमबारदेखि रेडियो तथा अनलाइन तयारी कक्षा सञ्चालनमा आएको छ ।

नयाँ वर्ष–२०७७ को शुभारम्भसँगै बैशाख १ गतेदेखि नै कार्यक्रम सञ्चालनमा आएको हो ।

एसइई परीक्षाको तयारी गरिरहेका कोहलपुर नगरपालिका सहित छिमेकी पालिकाका विद्यार्थीहरुको सहजताका लागि घरमै बसरेर अभ्यास गर्न सक्ने गरी कोहलपुरमा रहेको रेडियो मिसन ९०.६ मेगाहर्ज र अनलाइनबाट एकैसाथ एसइइ तयारी विशेष कार्यक्रम ‘एसइई मिसन–२०७६’ संचालनमा ल्याइएको रेडियोका स्टेशन प्रमुख विनोद पौडेलले जानकारी दिए ।

यस क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई सहयोग पु¥याउने उद्देश्यले नगर शिक्षा शाखा र यस क्षेत्रका विभिन्न विद्यालयहरुकोे सहकार्यमा रेडियो मिसन तथा अनलाइनबाट एसइई तयारी कक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रम हप्ताको पाँच दिन बिहान १० देखि ११ बजेसम्म र पुन प्रशारण साँझ ७ देखि ८ बजेसम्म प्रशारण हुने छ । सोमबार कार्यक्रमको पहिलो दिन नयाँ वर्ष शुभकामना आदान प्रदानसँगै कार्यक्रमबारे विभिन्न व्यक्तित्वहरुको सल्लाह तथा सुझावहरु लिइएको थियो ।

कार्यक्रममा नगर प्रमुख लुट बहादुर रावतले नयाँ वर्षको आम नगरवासीलाई शुभकामना दिँदै लकडाउनका कारण समस्यामा परेको एसइई दिन विद्यार्थीहरुलाई कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा गरे । साथै विद्यार्थीहरुलाई आफूले नजानेका प्रश्नहरु र जिज्ञासाहरु सम्वन्धित विषय विज्ञहरुसँग राख्न पनि सुझाव दिए ।

यस्तै कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख अनन्त पौड्याल, सामाजिक विकास समिति संयोजक नारायणी वली, बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल लगायत शिक्षासँग सम्बद्ध व्यक्तित्वहरुले शुभकामना तथा सल्लाह सुझाव दिएका थिए ।

कार्यक्रममा मंगलबार आज गणित विषयका विषय विज्ञसँग विद्यार्थीहरुले पठाएका प्रश्नहरुबारे छलफल गरिने छ ।

विद्यार्थीहरुका प्रश्न र जिज्ञासा सम्वन्धित विषय विज्ञसँग समाधान गर्न लगाइने छ । कार्यक्रम हप्ताको पाँच दिन सञ्चालन हुने छ । आइतबार अंगे्रजी, सोमबार नेपाली, मंगलबार गणित, बुधबार सामाजिक शिक्षा र बिहीबार विज्ञान विषयको कक्षा सञ्चालन गरिने छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २ गते मंगलबार