नेपालगञ्जमा भण्डारा सञ्चालन रद्द, राहात नै वितरण गरिने



नेपालगञ्ज ।

स्थानीयहरुको तिव्र विरोधले गर्दा बाँके नेपालगन्ज उपमहानगरपालिकाले विपन्नलाई खाना खुवाउन भण्डारा सञ्चालन गर्ने भनि गरेको निर्णय रद्द गरेको छ । उपमहानगरपालिकाको शनिबार बसेको आकस्मिक बोर्ड बैठकले विपन्नलाई नगरका पाँच ठाउँमा खाना खाने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

लक्षित वर्गका नाममा राहत र सहयोग वितरणमा देखिएको अनियमितता र ब्रम्हलुटले आजित नागरिकले उठाएका विरोधका आवाजलाई मत्थर पार्न उपमहानगरपालिकाले जनभावना नबुझेरै गरेको निर्णय २० घण्टा पनि टिक्न नसकेर रद्द भएको हो । उक्त निर्णयको चौतर्फी विरोध र नेपालगञ्जका जनप्रतिनिधिको आलोचना भएको थियो । २३ वटा वडा रहेको नगरमा पाँच ठाउँमा मात्रै खाना लगाउदा भीडभाड हुने भन्दै धेरैले विरोध गरेका थिए । स्थानीय प्रशासनलाई नसोधेर गरिएको निर्णय एक दिन पनि टिक्न पाएन । स्थानीय प्रशासनको अवरोधपछि खाना खुवाउने कार्यक्रम रोकिएको हो ।

उपमहानगरपालिकाले भण्डारा लगाउने निर्णय गर्नु र आमनागरिकलाई भण्डारामा खाना खान आउन निमन्त्रणा गरेको भन्दै चर्को विरोध भएको थियो । उपमहानगरपालिकाले हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिर पार्क, रामलिला मैदान, आदर्श मावि राँझा र कोरियनपुरस्थित आपको बगियामा खाना खाने व्यवस्था गर्ने निर्णय गरेको थियो । विशेष गरेर भाडामा बसेका व्यक्तिलाई लक्षित गरेर खाना खाने कार्यक्रम बनाइएको थियो ।

खाना खुवाउने कार्यक्रम स्थगित गरेर नेपालगन्ज उपमहानगरपालिका कार्यालय राहत नै बाँड्ने तयारीमा जुटेको छ । उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले खाना खुवाउने कार्यक्रम स्थगित गरेको जानकारी दिँदै अब राहत दिने निष्कर्षमा पुगेको बताए । उनले राहत कति, कसरी दिने भन्ने विषयमा फेरि बोर्ड बैठक बसेर निर्णय गर्ने जानकारी दिए । नेपालगञ्जमा पाँच हजार बढी भाडामा बस्ने मानिस रहेको आँकलन गरिएको छ ।

उनीहरुलाई उपमहानगरपालिकाले खाना खुवाउने निर्णय गरेको थियो । अब भने राहत नै दिने तयारीमा जुटेको छ । यसअघि वडा कार्यालयले आफ्नो ठाउँका विपन्नलाई राहत वितरण गरिसकेका छन् । वडाले राहत वितरण गर्दा देखिएको विवादले गर्दा उमपहानगरपालिकाले खाना खुवाउने निर्णय गरेको थियो । यद्यपि, त्यो सफल हुन सकेन ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख १ गते सोमबार