नेपालगञ्जमा लकडाउन उलङ्घन गर्ने दुई महिलासहित ४८ जना प्रहरी फन्दामा



नेपालगञ्ज

लकडाउन उल्लंघन गरी बाहिर निस्कनेलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गर्न इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग सुरु गरेको छ ।

लकडाउन उलङ्घन गर्नेको सँख्या बढ्दै गएपछि बाँके प्रहरी आफैले स्टिक निर्माण गरी प्रयोगमा ल्याएको पहिलो दिन मंगलबार २ महिला सहित ४८ जना नियन्त्रणमा लिएको थियो ।

नेपालगञ्जका बिभिन्न क्षेत्रबाट म्यान क्याचर स्टिक सहित प्रहरी परिचालन भएका थिए ।

बीपि चोकबाट सुरु गरिएको कारबाही अभियानका दौरान बेलुका ७ बजेसम्म २ महिला सहित ४८ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीर बहादुर ओलीले जानकारी दिए ।

यस्ता ब्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि इम्प्रोभाइज्ड म्यान क्याचर स्टिक निर्माण गरीएको उनले बताए ।

पहिलो दिन पक्राउ परेका ब्यक्तिहरुलाई १ घण्टा प्रशिक्षण दिएर छाडिएको बताउँदै प्रहरीले अबदेखि लकडाउन उलङ्घन गर्ने बिरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएको छ ।

स्थानीय स्तरमै उत्पादन गरीएको स्टिक ४–५ फिट लामो भएकाले कुनै पनि ब्यक्तिलाई नछोएरै प्रहरीले नियन्त्रणमा लिन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।

उनले स्टिक प्रयोग गर्ने प्रहरीले आत्मसुरक्षाका लागि पिपिई लगाएको र नेपालगञ्जमा हाल यस्ता ५ वटा स्टिक बनाइएको बताए । कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले आव्हान गरेको लकडाउन नेपालगञ्जमा प्रभावकारी नभएको भन्दै प्रहरीको आलोचना हुँदै आएको थियो ।

प्रहरीले लकडाउनको समयमा कामबाहेक बाहिर निस्किनेलाई पक्राउ गर्न थालेसँगै साँझपख बजारमा मानिसहरुको संख्या न्यून देखिन थालेको छ ।

लकडाउन अवधिभर अनावश्यक रुपमा घरबाहिर निस्कने जो कोहीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन म्यान क्याचर स्टिक प्रभावकारी रहेको बताउदै बाँके प्रहरीले लकडाउनको बेलामा अत्यावश्यक काम बाहेक बाहिर नहिड्न आग्रह समेत गरेको छ ।

नेपालगञ्जबाट सुरु गरिएको यो अभियान जिल्लाका अन्य स्थानहरुमा समेत सुरु गरिने जिल्ला प्रहरी कार्यालय बाँकले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २६ गते बुधबार