बाँसगढीको प्रकोप व्यवस्थापन कोषमा रकम थपिदै



रावन विश्वकर्मा, बाँसगढी, 

कोरोना भाईरस(कोभिड–१९) विश्वमा माहामारीको रुपमा फैलिरहेको बेला बर्दियाको बाँसगढी नगरपालिकाले पनि विपद् तथा प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाले एन.आई.सी एसिया बैंकको बाँसगढी शाखामा विपद् तथा प्रकोप व्यवस्थापन कोषको खाता समेत खोलेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र सरकारले घोषणा गरेको लकडाउनका कारण साँझ विहानको छाक टार्न समस्या भएका गरिव तथा अतिविपन्न परिवारलाई राहत उपलब्ध गराउने उदेश्यका साथ नगरपालिकाले विपद् तथा प्रकोप व्यवस्थापन कोष खडा गरेको हो ।

कोषमा अहिले सहयोग रकम बढ्न थालेको छ । नगरपालिकाको १० लाख रकमबाट सुरु भएको विपद् तथा प्रकोप व्यवस्थापन कोषमा हाल सम्म विभिन्न संघ संस्थाहरुबाट १ लाख ११ हजार नगद रकम प्राप्त गरी ११ लाख ११ हजार बढी रकम जम्मा भएको बाँसगढी नगरपालिकाका सुचना अधिकारी क्षितिज पौडेलले जानकारी दिए ।

उनका अनुसार हाल सम्म भैरव कन्ट्राक्सन प्रा.लि बाँसगढी ५ बर्दियाबाट नगद ५० हजार, नेशनल प्याब्सन बर्दिया पुर्वि कलस्टर बाँसगढीबाट २५ हजार, बाँसगढी पिपलबोट तथा ऋण सहकारी संस्था लि. बाँसगढीद्धारा नगद २१ हजार रकम सहयोग प्राप्त भएको छ । कोषमा बेलटाडी युवा क्लव लक्ष्मणपुर बाँसगढीबाट नगद १० हजार र बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बाँसगढीबाट ५ हजार रकम सहयोग प्राप्त भएको बाँसगढी नगरपालिकाले जनाएको छ ।

त्यस्तै एन.आई.सी एसिया बैंक बाँसगढी शाखाले विपद्को बेला ५० घर परिवारलाई पुग्ने प्याकेजमा राहत सामाग्री उपलब्ध गराएको छ । दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने नगर क्षेत्रमा रहेका अति विपन्न र गरिब परिवारलाई लकडाउनमा खाद्यन्न संकटकको वेला केही राहत होस भन्ने उदेश्यले १ लाख बराबरको ५० घर परिवारलाई पुग्ने प्याकेजमा राहत सामाग्री नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

एन.आई.सी एसिया बैंक बाँसगढी शाखा प्रमुख ज्ञानेन्द्र कुमार जैसवालले बाँसगढी नगर प्रमुख सालिकराम अधिकारीलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए । बैंकले २५ किलोको ५० बोरा चालम, १ कुईन्टल दाल, ५० किलो नुन, ५० लिटर खाने तेल, १ सय वटा साबुन नगरपालिकालाई हस्तान्तरण गरेको थियो । सामाग्री बुझदै नगरपालिकालाई सहयोग प्राप्त राहत सामाग्रीहरु वडा मार्फत बास्तविक अति विपन्न तथा गरिव परिवार सम्म पुर्याउने समेत प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै आईतबार बाँसगढी ६ मा ३४ परिवारलाई राहत वितरण गरिएको छ । वडामा अति विपन्न तथा गरिव परिवारको पहिचान गरी ३४ घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडाले प्रति परिवार २५ किलो चालम, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल र २ वटा सावुन वितरण गरेको थियो । वडा नम्बर ५ ले भने सोमबार राहत वितरण गर्ने जनाएको छ भने अन्य वडामा पनि राहत वितरणको लागि लगत संकलन कार्य भईरहेको जनाईएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २३ गते आइतबार