अस्पताललाई ‘पिपिई’ सहयोग



नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि विशेषगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अति आवश्यक पर्ने प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ) प्रदान गरेको छ । मंगलबार भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा १५० सेट भन्दा बढी प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) ले जानकारी दिए ।

अध्यक्ष मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले तीनवटै स्वास्थ्य निकायलाई डेढ सय बढि पिपिई हस्तान्तरण गरेका थिए । थप अन्य पिपिई पनि निर्माण भैरहेकाले आवश्यक पर्ने संस्थालाई थप वितरण गरिने महासचिव ओलीले जानकारी दिए । पिपिई कोरोना संक्रमण भएका बिरामीको स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि लगाउनुपर्ने कपडा हो ।

स्वास्थ्यकर्मीको मागलाई ध्यानमा राख्दै नेपालगञ्ज उद्योग वाणिज्य संघले पिपिईको सहयोग गरेको हो । संघका महासचिव ओलीले चिकित्सकको सल्लाह अनुसार पिपिई तयार गरिएको बताए ।

अब बन्ने पिपिई भेरी अस्पताललाई उपलब्ध गराउने जानकारी दिदै उनले कोरोना भाइरस बिरुद्धको अभियानमा संघले निरन्तर सहयोग गरिरहने दाबी गरे । केही दिन पहिले मात्र संघले राहात कोष स्थापना गरेर २ लाख भन्दा बढी रकम समेत कोषमा संकलन गरिसकेको अवस्था छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १२ गते बुधबार