कोहलपुर ।
बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा सुविधा सम्पन्न १० बेडको क्वारेन्टाइन तयार गरिएको छ । कोरोना भाइरसलाई मध्यनजर गरेर सुरक्षाका लागि १० बेडको क्वारेन्टाइन तयारी पारिएको हो । बाँसगढी नगरपालिकाको नवनिर्मित भवनलाई अस्थायी क्वारेन्टाइनको रुपमा परिणत गरिएको छ ।
क्वारेन्टाइनको लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गर्नुका साथै आवश्यक सामग्रीको व्यवस्था गरिएको नगरप्रमुख शालिकराम अधिकारीले जानकारी दिए । उनका अनुसार पछि आवश्यकताको आधारमा क्वारेन्टाइनको बेड संख्या थप गर्न सकिनेछ । क्वारेन्टाइनमा आवश्यक अन्य व्यवस्थाका साथै दुईजना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी समेत तयारी अवस्थामा राखिएको उनले बताए । ‘नगरपालिका भित्रिने क्षेत्रमा समेत कडाइ गरिएको छ’ नगर प्रमुख अधिकारीले भने, ‘नगरका पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी नगरमा प्रवेश गर्ने मानिसहरुको स्वास्थ्य जाँचलाई निरन्तरता दिइरहेका छौं ।’
बाँसगढी नगरपालिकाका मोतीपुर देउडाकला, बेलुवा स्वास्थ्य केन्द्र, चेपांग आधारभूत स्वास्थ्य केन्द्र र लखनामा हेल्थ डेस्क स्थापना गरिएको बाँसगढी नगरपालिकाले जनाएको छ । यसैगरी नगरपालिकाभरीका सरोकारवालाहरुको सम्मिलित समिति निर्माण गरिएको प्रमुख नगर प्रमुख अधिकारीले बताए । समितिको अगुवाईमा बाँसगढी नगरपालिकामा उच्च सतर्कता अपनाइएको छ । ‘नगरपालिकाले जनताको सुरक्षाको लागि कुनै पनि कसर बाँकी राख्दैन’ उनले भने, ‘जनताले समेत आफै संयमता अपाएर सुरक्षित बन्नुपर्छ ।
हामीले पनि कोरोना भाइरसबाट बच्नको लागि जनचेतना फैलाईरहेका छौं ।’ सिगंो देश नै लक डाउन भएका कारण पनि अत्यावश्यक बाहेकका सबै कुरा बाँसगढीमा निषेध गरिएको छ । सहरी क्षेत्रमा लक डाउनको प्रभाव देखिएपनि गाउँघरमा लापरबाही भएको सुन्नमा आएकाले मंगलबार सरोकारवाला सहित अनुगमन गरिएको नगर प्रमुख अधिकारीले जानकारी दिए । अनुगमनको क्रममा गाउँमा ताँस खेल्ने, क्यारम बोर्ड खेल्ने तथा भिडभाड गर्ने गरेको पाइएको थियो ।
यस्तै बाँसगढीका अत्याधिक मानिसहरुको घुइँचो हुने बसपार्क, सिजी फुट्सको कार्यालय लगायतका क्षेत्र लक डाउन भइसकेका छन् । यस्तै नगरपालिकाका विभिन्न क्षेत्रमा साबुन पानीले अनिवार्य धात हुने व्यवस्था गरिएको छ । यस्तै सचेतनाका लागि गाउँ गाउँमा युवा परिचालन गरिएको नगर प्रमुख अधिकारीको भनाई रहेको छ । अत्यावश्यक वस्तुहरुको बिक्रि गर्ने मेडिकल सञ्चालक र व्यवसायीलाई सुरक्षा अपनाई सेवा प्रवाह गर्नुका साथै प्रचार, पम्पेट तथा माइकिङको माध्यमबाट जनचेतना फैलाउने कार्य भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्