बाँसगढीमा विशेष सजकता



रावन विश्वकर्मा, बाँसगढी ।

नोवेल कोरोना भाइरसको संक्रमणबाट बच्न बाँसगढी नगरपालिकाले विशेष सजकता अपनाउने भएको छ । भारतीय खुल्ला सिमा नाकाका कारण बर्दिया पनि कोनोराको उच्च जोखिममा रहेकाले सम्भावित संक्रमणबाट बच्च बाँसगढी नगरपालिकाले पनि बिशेष सावधानी अपनाउने भएको हो । नागरिकहरुमा फैलिएको कोरोना भाइरसको सनत्रासलाई कम गर्न र संक्रमणबाट बच्च तयारीलाई तीव्र पारिने भएको छ ।

बिहीबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठ्कले कोरोना चेकजाँचको लागि ३ वटै स्वास्थ्य केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ । बाँसगढी क्षेत्रमा कोरोना चेकजाँचको लागि मोतिपुर स्वास्थ्य केन्द्र, डेउढाकला स्वास्थ्य केन्द्र र मोतिपुर स्वास्थ्य केन्द्रमा हेल्थ डेस्क सञ्चालन गरिने र बाँसगढी नगरपालिकाको नयाँ भवनमा आइसुलेसन कक्ष र क्वारेन्टाइन कक्षको स्थापनाको तयारी गर्ने गरिने बैठकमा निर्णय गरिएको छ । त्यस्तै बाँसगढी नगर क्षेत्रका सबै शैक्षिक संस्था बन्द गर्ने, कोरोना सम्बन्धी सचेतनामुलक सन्देश प्रचार प्रसारण गर्ने, प्रत्येक चोक चोकमा पर्चा पप्लेट टास्ने, माईकिंङ गर्ने र टोलटोलमा वडास्तरीय समिती समेत गठन गर्ने भएको छ । नगर क्षेत्रमा अति आवश्यक सामग्री खाद्यन्न, ग्याँस र पेट्रोलको कृत्रिम अभाव हुन नदिन नगरपालिकाले प्रभावकारी अनुगमन गर्ने भएको छ ।

विपद् व्यवस्थापन समितिका संयोजक तथा नगर प्रमुख सालिकराम अधिकारीको अध्यक्षतामा बैठ्क बसेको थियो । नगरपालिकामा बिहीबार नै महामारी तथा प्रकोप जन्य अवस्थामा दु्रत कार्यका लागि जनस्वास्थ्य आपतकालिन व्यवस्थापन उपसमिति र द्धन्द्ध प्रतिकार्य टोली समेत गठन गरेको छ । बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज खत्रीको संयोजकत्वमा जनस्वास्थ्य आपतकालिन व्यवस्थापन उपसमिति गठन गरिएको हो ।

जसको सदस्यमा स्वास्थ्य चौकीका प्रमुख, बिषयगत शाखा प्रमुख, खानेपानी सरसफाई उपभोक्ता समितिका प्रमुख, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख, प्रहरी, शसस्त्र प्रहरी प्रमुख, उद्योग वाणिज्य संघका प्रमुख, सञ्चारकर्मी लगायत सदस्य रहेका छन् भने सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख धन रेग्मीलाई राखिएको छ । उपसमितिले विपद् प्रतिकार्य आयोजना बनाउने छ भने समुह द्रुत गतिमा खटिने छ । त्यस्तै बिपद् व्यवस्थापन समितिका फोकल प्रसन शेर बहादुर केसी संयोजक रहने गरी द्रुत प्रतिकार्य समूह गठन गरिएको छ । समूहमा औषधि व्यवसायी संघ बर्दियाका अध्यक्ष शुरेस कुमार रेग्मी, स्वास्थ्य चौकीका प्रमुख, स्वास्थ्यकर्मी लगायत रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ७ गते शुक्रबार