किसानलाई तरकारी खेती गर्न सिकाउदै बाँसगढी



रावन बिश्वकर्मा, बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिकाले नगर क्षेत्रका कृषकहरुलाई नविनतम् प्रविधिबाट तरकारी खेती गर्न सिकाउन सुरु गरेको छ । जिविकोपार्जनको रुपमा मात्रै तरकारी खेती गदै आएका कृषकहरुलाई व्यवसायीकरण गर्न नयाँ खेती प्रविधिका बारेमा जानकारी दिन थालिएको हो । बाँसगढी नगर क्षेत्रमा केही कृषकहरुले मात्रै आधुनिक प्रविधिबाट तरकारी खेती गरिरहेको अवस्था छ । सबै कृषकलाई समेटेर तरकारी खेतीबाटै आत्मनिर्भर बनाउनको लागि तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

कृषकहरुले नविनतम् प्रविधिबाट तरकारी खेती गरी बढी भन्दा बढी उत्पादन गरी आर्थिक आर्जनमा बृद्धि गर्नको लागि तालिम प्रदान गरिएको कृषि शाखा प्रमुख लाल बहादुर खड्काले जानकारी दिए । उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको लागि स्वीकृत वार्षिक कार्यक्रम अन्तरगर्त जिविकोपार्जनलाई जोड दिने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो ।

कृषि शाखा बाँसगढीले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा मात्रै झण्डै ७० बढी कृषकहरुलाई नविनतम् प्रविधीबाट तरकारी खेती गर्न सिकाउने लक्ष्य राखेको उनले बताए । शाखा प्रमुख खड्काले पहिलो चरणमा बाँसगढी वडा नम्बर ४ को अभियान महिला कृषक समुहका ३० जना महिलाहरुलाई नविन्तम तरकारी खेती प्रविधिका बारेमा तालिम दिई सकेको जानकारी दिए । अब अर्को चरणमा वडा नम्बर ९ र ३ का कृषकहरुलाई पनि तालिम दिईने बताईएको छ ।

तरकारी खेतीमा नविनतम् प्रविधि अन्र्तगत बेमौसमी तरकारी खेती, लहरे तरकारी खेती प्रणाली, तरकारी खेती सम्बन्धी टनेल प्रविधि लगायत आधुनिक प्रविधिबाट कसरी बढी भन्दा बढी तरकारी उत्पादन गर्न सकिन्छ भन्ने बारेमा सिकाईने शाखा प्रमुख खड्काले बताए । त्यस्तै कृषि प्रणालीमा सामुहिकता ल्याउने अपेक्षा अनुसार कृषकहरुलाई सामुहिक रुपमा नविनतम् प्रविधि सम्बन्धि तालिम दिन थालेको नगर प्रमुख सालिकराम अधिकारी बताउँछन् । उनले कृषकहरु सामुहिक खेती प्रणालीमा गएमा नगरपालिकाले आवश्यक कृषि सामग्री, टनेल निर्माणका लागि आवश्यक सामग्री, सिंचाईको सुविधासँगै नयाँ प्रविधिका साथ नयाँ खालको खेती गर्न सक्ने अवस्था रहने बताए । बाँसगढी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता राखेको र कृषकहरु कृषि पेशा तर्फ उन्मुख भएमा बजेटमा कुनै कमी हुन नदिने समेत नगर प्रमुख अधिकारीले प्रतिबद्धता जनाए ।

बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले पनि कृषि पेशालाई कृषकको व्यवसायसँग जोड्न खोजिएको बताईन् । ‘कृषि पेसालाई कृषकको व्यवसाय सँग जोड्न खोजेका छौ’ उनले भनिन्, ‘जसका लागि नगरपालिकाले कृषकको लागि आवश्यक बिउ, बिषादी उपलब्ध गराउनेसँगै बाली वीमा समेत गर्नेे काममा लागिरहेको अवस्था छ ।’ कृषकहरुले गर्दै आएको खेती प्रणालीलाई आधुनिकरण, यान्त्रीकरण गरी व्यवसायीमुखी बनाउने र आर्थिक आर्जनको बाटोमा जोड्ने गरी नगरपालिकाले कृषिका कार्यक्रमहरु ल्याएको उनले बताइन् ।

उनले नगरपालिकामा एक गाउँ एक प्रविधियुक्त खेती प्रणाली समेत लागु गर्ने योजना रहेको बताईन् । बाँसगढी नगरपालिका क्षेत्रमा नै कृषि अध्ययनको लागि जनता माध्यमिक विद्यालय बठुवामा कृषि क्याम्पस सञ्चालनमा समेत रहेको छ । क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीहरुले अध्ययनसँगै व्यवहारिक रुपमा पनि नयाँ प्रविधिबाट कृषि खेतीको अभ्यास गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २६ गते शनिबार