सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले विचौलियाका कारण कर्णालीमा शैक्षिक क्षेत्र सोचे अनुरुप विकास हुन नसकेको बताएका छन् । शैक्षिक क्षेत्रमा व्याप्त विचौलियाले शैक्षिक क्षेत्रमा असमानता सिर्जना गरेको उनले बताए । सोमबार वीरेन्द्रनगरमा आयोजित सिटिइभिटि कार्यक्रम तथा छोटो अवधिको सीपमुलक तालिम सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावलले समग्र शैक्षिक प्रणाली विचौलियाको हातमा रहेको बताएका हुन् ।
‘गरिब जनताको १÷१ रुपैयाँ तिरेको कर विचौलियाले स्कूल, शिक्षालयको नाम लिएर बदमासी गरेर लाखौ करोडौ खान हुन्छ ? त्यो सम्भव छैन, त्यसैले अब विचौलियाको अन्त्य नगरेसम्म देशको समृद्धिको सपना कल्पना मात्रै हुनेछ’ उनले भने । ‘दक्ष जनशक्ति उत्पादनका लागि सिटिइभिटिको रकम अपुग भए सामाजिक विकास मन्त्रालय सहयोग गर्न तयार छ’ मन्त्री रावलले भने,‘ हामीले गर्ने भनेको नै कर्णालीका युवाहरुलाई कसरी हुन्छ स्वरोजगार बनाउने नै हो, यदी कही कतैबाट बीचमा विचौलिया प्रवेश गरेमा मन्त्रालयबाट १ रुपैयाँ पनि भुक्तानी दिनेछैन ।’
चुनावको समयमा मात्रै युवाहरुलाई प्रयोग गर्ने र अन्य समयमा खाडीको भिसा लगाउन बाध्य पार्न भन्दा उनीहरुलाई ब्यावसायिक रुपमा स्वदेश मै सक्षम बनाउन सकिने उनले बताए । कार्यक्रमका सिटिइभिटि कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले कर्णाली प्रदेशमा रहेका युवाहरुले मध्ये ५ हजार युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्यले कार्यक्रमको आयोजना गरिएको दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्