भैलोको रकमले धारा जडान



कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका—७ स्थित भैलो खेलेको रकमले धारा जडान गरिएको छ । मंगलबार राइजिङ ग्यालेक्सी एकेडेमीका कक्षा १ देखि ५ कक्षा सम्मका बालबालिकाहरुले दैउसीभैलो खेलेको रकमले लालपुर गाउँको हुलाकी सडकमा रहेको पिपलचौतारामा धारा जडान गरेका हुन् । वाटोमा वरपर हिड्ने मानिसहरुलाई
पानी खान सहज गराउने उदेश्यले सार्वजनिक स्थलमा धारा जडान गरिएको हो ।

विद्यार्थी देउसी भैलो खेलेर जम्मा ३० हजार रकम संकलन गरेका थिए । मंगलबार एक कार्यक्रमका बीच राप्तीसोनारी गाउँपालिका—७ का वडा अध्यक्ष रामलखन थारुले धाराको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै थारुले राप्तीसोनारी गाउँपालिका ७ नम्बर वडाको लागि उदारणीय काम गरेको बताए । ‘अन्य विद्यालयहरुले पनि भैलो खेल्छन्’ उनले भने, ‘देउसी भैलो खेलेर फर्जुल खर्च गरेर मात्र सकिन्छ तर सामाजिक काम गर्नेतर्फ कसैको ध्यान छैन ।’

सार्वजनिक स्थलमा साना बालबालिकाहरुले धारा जडान गरी समाजमा सकारात्मक सन्देश दिएको उनको भनाई थियो । यस्तै राइजिङ ग्यालेक्सी एकेडेमीका प्रिन्सिपल भरत नाथ योगीले बालबालिकालाई सानैदेखि सामाजिक कार्य गर्नेतर्फ अग्रसर बनाउने उद्देश्यले धारा जडान गरिएको बताए । ‘अहिलेको कलिला बालबालिका भोलीका कर्णाधार हुन्’ उनले भने, ‘देशलाई विकास र समृद्धि गराउने युवाहरु नै हुन् ।’ देउसीभैलो खेलेर फर्जुल खर्च गर्नुभन्दा समाजिक कार्य गरेमात्र समाजलाई समृद्धि तिर जाने उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ११ गते बुधबार