कोहलपुर ।
आउँदो १४ गते हुन गईरहेको उप–निर्वाचनको लागि कोहलपुर वडा नम्बर ६ मा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । बाँके जिल्ला कै एकमात्र निर्वाचन क्षेत्रको रुपमा रहेको कोहलपुर वडा नम्बर ६ मा बिहीबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो । निर्वाचन आयोगको नियमित कार्यतालिका अनुसार मतदातालाई शिक्षा दिन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । कार्यक्रम आउँदो ११ गते सम्म जारी रहने जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकृत खुम प्रसाद सुवेदीले जानकारी दिए ।
‘निर्वाचन हुने क्षेत्रका नागरिकलाई मतदान प्रक्रियामा भाग लिनको लागि सहज होस् भन्ने उद्देश्य मतदाता शिक्षाको रहेको छ’ उनले भने, ‘यो अवधिमा मुख्य रुपमा यहाँका मतदाताहरुलाई मतदानका बारेमा जानकारी दिन्छौं ।’ बिशेष गरी निरक्षर मतदाता, जेष्ठ नागरिक र महिलालाई लक्षित गरी मतदाता शिक्षा प्रदान गर्न लागिएको उनले बताए । मतदाता शिक्षा कार्यक्रमको लागि कोहलपुर ६ मा दुई जना मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ ।
‘दुई जनालाई निर्वाचन हुने क्षेत्रमा खटाई सकेका छौ’ निर्वाचन अधिकृत सुवेदीले भने, ‘मतदाता शिक्षा कार्यक्रमको लागि आवश्यक कागजजात सहित खटिएका छन् ।’ उनीहरुले मतदातालाई मतपत्रबारे जानकारी, भोट गर्ने तरिका, आफुलाई मन परेको उम्मेदवारलाई भोट हाल्दा ध्यान दिनु पर्ने कुराहरु लगायतको बिषयमा जानकारी गराउँनेछन् । अहिले खटिएका मतदाता शिक्षा कार्यकर्तालाई कार्यक्षेत्रमा जाँदा अपनाउनु पर्ने विधिका बारेमा तालिम दिइएको थियो ।
मतदाता परिचय पत्र बिना निर्वाचनमा भाग लिन नपाईने भएकोले सबैलाई आफ्नो परिचय खुल्ने पत्र सहित तयारी अवस्थामा रहन समेत निर्वाचन अधिकृत सुबेदीले सबैलाई आग्रह गरे । निर्वाचनको तयारी कै लागि शनिबार विहान हुने नमूना मतदान कार्यक्रमको तयारी भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कोहलपुरले जनाएको छ ।
अहिले उप–निर्वाचनको लागि निर्वाचन आचारसंहिता लागु भईसकेको छ । निर्वाचनको संवेदशिलतालाई मध्यनगर गर्दे निर्वाचन क्षेत्रलाई विशेष चासोको रुपमा हेरिएको मुख्य निर्वाचन अधिकृत अधिकृत खडानन्द तिवारीले जानकारी दिए । बुधबार मात्रै चुनावलाई प्रभाव पार्ने मनसायले सरकारी स्तरबाट कार्यक्रम आयोजना हुन लागेको भन्दै रोक्नको लागि नेपाली काँग्रेस नगर कमिटि कोहलपुरले उजुरी गरेको थियो ।
मुख्य निर्वाचन अधिकृत तिवारीले उक्त क्षेत्रमा चुनावलाई प्रभाव पार्ने खालका कूनैपनि गतिविधि हुन नदिने बताए । बुधबार साँझ मात्रै नेपाली काँग्रेसका एक पुर्व राज्यमन्त्रीले प्रयोग गर्दै आएको सरकारी नम्बर प्लेटको गाडी वडा नम्बर ६ मा भेटिएको थियो ।








प्रतिक्रिया दिनुहोस्