नेपालगञ्ज ।
वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगञ्जमा तीन वटा खेल्दै सिक्ने केन्द्र सञ्चालन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि अहिले अर्को रणनीतिक कार्ययोजना निर्माण भइसकेको छ ।
कार्ययोजना निर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदल गठन गरिएको
थियो ।
करिब १२ हजार बालबालिका र किशोरकिशोरीहरू विद्यालय बाहिर रहेकाले उनीहरूलाई केन्द्रमा समेट्ने उद्देश्य राखिएको शिक्षा विकास समन्वय एकाइका प्रमुख रामसुरत यादवले बताए । उपमहानगरपालिकाको घसियारन टोल, बसुदेवपुर र भवनियापुरमा केन्द्र स्थापना भइसकेको जनाइएको छ । खेल्दै सिक्ने केन्द्रलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने सम्बद्ध वडा कार्यालयले यसको अपनत्वसमेत ग्रहण गरेको छ ।
श्रम गर्नुपर्ने तर, विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीहरूले केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म जुनसुकै समयमा आएर पढ्न र खेल्न पाउने व्यवस्था मिलाइएको छ । बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरूको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले केन्द्र सञ्चालन गर्न लागिएको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताए ।
केन्द्रमा विद्यालय छाडेका १० वर्षदेखि १९ वर्ष उमेरका तथा जाँदै नगएका बालबालिका र किशोरकिशोरीहरू विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशील, सूचना तथा प्रविधि, आय आर्जनलगायतका विषयमा ज्ञान दिने गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्