हेमन्त केसी । जाजरकोट ।
जुम्ली स्याउले जाजरकोटका बजारमा माग बढेपछि भारतीय स्याउ बजार पाउन छाडेको छ । जुम्लाको स्याउ सय रुपैयाँमा एक किलो स्याउ पाइने भएपछि महँगोमा भारतीय स्याउ खरिद गर्ने ग्राहकको संख्या घटेको हो । स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि अत्यधिक माग बढेको व्यापारी लोकेन्द्र रोकायले बताए । भारतीय स्याउभन्दा जुम्ली स्याउ मीठो भएको भेरी नगरपालिका ३ का शारदा ओलीले बताइन् ।
जाजरकोट सदरमुकाममा ३ ठाउँमा डिलर राखेर जुम्ली स्याउ बिक्री भइरहेको छ । जुम्ली स्याउसँगै जाजरकोटमा फलेको स्याउ बिक्री वितरणमा समेत सहज भएको व्यापारीले बताएका छन् । भारतबाट कमाई गरेर घर फर्कनेहरूसमेत घरमा जुम्ली स्याउ नै नाँसोको रूपमा लिने गरेका छन् । अर्गानिक भन्दै जुम्ली स्याउको माग बढेको छ । स्थानीय उत्पादनलाई प्रत्साहन गर्नुपर्ने उद्योग वाणिज्य संघ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए ।
कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादनलाई प्रत्साहन गर्ने लक्ष्य लिएसँगै जुम्ली स्याउको माग ह्वातै बढेको छ । यातायातको अभावमा अघिल्लो वर्ष जाजरकोटमा ल्याउन नसकिएको बताउँने यहाँका व्यापारीहरू यो वर्ष केही सहज भएपछि जुम्ली स्याउ ल्याउन पाएको बताए । जाजरकोटमा यातायातको पहुँच भएको सवै ठाउँमा जुम्ली स्याउ पुगेको व्यापारी बताउँछन् । त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिम, सुर्खेतमा समेत जुम्ली स्याउमा बजार पाएको व्यापारी रणबहादुर महतले बताए ।









प्रतिक्रिया दिनुहोस्